‘लिडर’ प्रकाशनको तयारीमा प्रेस चौतारी

पाल्पा/ प्रेस चौतारी नेपाल पाल्पा शाखाले सूर्यध्वजावाहक लिडर २०७९ प्रकाशनको तयारी थालेको छ । संगठनको घुम्ती बैठकमा भएको निर्णय अनुसार प्रकाशनको काम अगाडि बढेको हो । बैठक रम्भा गाउँपालिका १ हुंगीमा रहेको रम्भा रिसोर्टमा बसेको थियो । बैठकले २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय र २०७९ मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पाल्पा जिल्लामा नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर विजयी प्राप्त गरेका स्थानीय तहका जनप्रतिनिधि, प्रदेश र संघीय सांसदहरुको राजनीतिक जीवनी समेटनेगरी सूर्यध्वजावाहक लिडर २०७९ प्रकाशनको तयारी गरेको हो । जसका लागि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज मिलन विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय प्रकाशन समिति गठन गर्ने निर्णय गरेको जिल्ला सचिव नारायण न्यौपानेले जानकारी दिए ।

यसका साथै बैठकमा गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रेस चौतारी नेपाल पाल्पाको भूमिका, प्रचार प्रसार र मिडिया परिचालनका विषयमा समीक्षा भएको छ । यसका साथै बैठकले संगठनको कार्यसमिति सदस्य दयाराज न्यौपाने र सन्तोष बस्याललाई सचिवालय सदस्यमा मनोनित गरेको छ । यसैगरी आगामी माघ २२ गते संगठनको केन्द्रीय स्थापना दिवसका दिन साधारण सभा गर्ने निर्णय गरेकोे सचिव न्यौपानेले जानकारी दिए ।

बैठकले संगठनमा विभिन्न व्यक्तित्वहरुले स्थापना गरेको अक्षयकोषबाट पुरस्कार वितरण कार्यलाई व्यवस्थित गर्नका लागि कार्यविधिको मस्यौदा छलफलका लागि प्रस्तुत गरेको छ । बैठकले आगामी तीन वर्षका लागि नविकरण शुल्क निर्धारण गर्नुका साथै ६० वर्ष माथीका चौतारीमा आवद्ध सदस्यहरुको नविकरण शुल्क छुट गर्ने निर्णय गरेको सचिव न्यौपानेले जानकारी दिए ।

बैठकमा नेकपा एमाले पाल्पाका उपाध्यक्ष देवीलाला लामिछानेले पछिल्लो समय प्रेस चौतारी पाल्पाको क्रियाशीलता प्रति खुलेर प्रशंसा गरे । उनले निर्वाचनका समयमा चौतारीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको समेत बताए । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमलराज तिमिल्सेनाले प्रगतिशील पत्रकारहरुको संगठन चौतारीले पाल्पाली पत्रकारितामा महत्वपूर्ण योगदान गरेको बताए । प्रेस चौतारीका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज मिलन विश्वकर्माले संगठन संस्थागत बन्दै विस्तारै आफना गतिविधिलाई तिव्रता दिएको बताए । बैठकमा प्रदेश सदस्य रामप्रसाद न्यौपाने,नेपाल पत्रकार महासंघका सचिव यज्ञमूर्ति तिमिल्सिना,बगनासकाली पत्रकार समूहका अध्यक्ष दिपक ढुंगाना,पूर्व उपाध्यक्ष बासुदेव ढकाललगायतले शुभकामना व्यक्त गरे ।

बैठक संगठनका उपाध्यक्ष बन्दना पोखरेलको स्वागत,सचिव नारायण न्यौपानेको संचालन र अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा चलेको हो ।

सम्बन्धित खवर