भुवन रायमाझी
पाल्पा/रैनादेवी छहरा गाउँपालिका ४ अमलाबासका किसान व्यावसायिक सुन्तला खेतीमा रमाएका छन् । पाल्पा सदरमुकाम तानसेदेखि करिव २७ किलोमिटर पश्चिममा पर्ने अमलाबासका ३५ देखि ४० घरका किसानले व्यावसायिक खेती सुन्तला खेती गर्दे आएका छन् । जसले गर्दा अमलाबास गाउँ अहिले सुन्तलाबासका गाउँका रुपमा परिचित बन्दै गएको छ । २०४० साल तिर स्थानीय यमलाल कोइरालाले सुरु गरेको सुन्तला खेती अहिले गाउँका सबै किसानका लागि मुख्य आम्दानीको स्रोत बनेको छ । खेती गर्नका लागि आवश्यक विरुवा पनि यहाँका किसानले उत्पादन गर्ने गरेका छन् । खेतीको सुरुवात गर्ने किसान कोइरालाले सुन्तालाको विरुवा उत्पादन गरेर पनि मनग्य आम्दानी दिएका छन् । अहिले यस क्षेत्रबाट करिव ४० जिल्लामा सुन्तला खेतीका लागि विरुवा विक्रीगरी पठाउने काम हुँदै आएको छ । पछिल्लो समय सुन्तला बगानमा स्वदेशी तथा विदेशी पर्यटकहरु पनि बगान हेर्न आउन थालेका छन् । पहलिे पहिले खरिद विक्रीका लागि बगानमा व्यापारी मात्र आउँने गर्दथे तर, अहिले विदेशी पनि खेती हेर्ने आउन थालेकोले किसान थप हौसिएका छन् । विगतमा सामान्य खेतीपाती गरेर निर्वाहको जीविका चलाउने किसानले पनि सुन्तला खेतीबाट राम्रो आम्दानी गर्न सफल भएको किसान कोइरालाको भनाइ छ ।
जिल्लाकै नमुना सुन्तला बगानका रुपमा पहिचान बनाएको यस गाउँका किसान सुन्तला बेचेर सहज रुपमा गुणस्तरीय जीवन विताएका छन् । सधै चुलोचौकोमा मात्र सिमित रहने महिलाहरु सुन्तला खेतीले आम्दानी बढाएसँगै सामाजिक कार्यमा सक्रियता बढाएको किसान गिता घिमिरेले बताइन् । नगदेवालिका रुपमा रहेको सुन्तला खेती मौषम सुहाँउदौ ठाउँ, खेती गर्न सहज र उत्पादन अनुसारको मूल्य पाउने हुँदा किसान सुन्तला खेतिमा लागेको घिमिरेको भनाइ छ ।
अमलाबासका सुन्तला किसानका बारीमा तीन सय देखी ५ सय सम्म सुन्तलाका बोटहरु छन् । गाउँका किसानको बगानमा एक सय ५० देखि करिव एक हजार पाँच सय सम्म सुन्तलाका बोट छन् । जाँगर भए देशभित्रै कृषि कर्मबाट बाँच्न सकिन्छ भन्ने उदाहरण यहाँका किसानले दिएका छन् । जसले गर्दा रोजगारीकै लागि बसाईसराई भएको छैन् । बैदेशिक रोजगारीमा जानेको सख्या पनि न्यून बन्दै गएको छ । वार्षिक रुपमा सुन्तला खेतीले धेरैलाई रोजगार दिएको सुन्तला किसान कमल घिमिरे बताए । उनका अनुसार छोटो अवधीमा राम्रो आम्दानी लिन सकिने भएकोले सुन्तला खेतीमा आर्कषण बढेको बताए । यो खेतीले तत्कालको खर्च व्यवस्थापन मात्र नगरेर पछि बुढेसकालमा समेत सुन्तलाको बोटले आम्दानी दिने भएकाले खेती गरेको घिमिरेले बताए । त्यसैले अमलबास गाउँका किसान स्थानीय उत्पादनलाई बढवा दिदै आएका छन् । गाई बस्तु घरमा पाल्छन, सुन्तला बगैचाको बीचमा तरकारी खेती बाट थप आम्दानी गर्छन । कृषि ज्ञान केन्द्र र स्थानीय सरकारहरूले सुन्तला खेती प्रवर्द्धन तथा गुणस्तरीय सुन्तला उत्पादनका लागि किसानहरूलाई मल, बिरुवा, प्राविधिक सहयोग तथा औषधी उपलब्ध गराउँदै आएको ज्ञान केन्द्र प्रमुख कामना अधिकारी बताइन् । किसानले उत्पादन गरेको सुन्तला विक्री वितरणका लागि कुनै समस्या नरहेको उनको भनाइ छ । अमलाबासको सुन्तला तानसेन बजार सहित पोखरा, बुटवल भैरहवा देखि नारायणगढ सम्मका व्यापारीले लैजाने गरेका छन् ।
गाउँमा अन्नबालीका लागि काम गर्ने कामदारको अभाव छ । खेतबारी बाझिने समस्या बढिरहेको समयमा सुन्तला खेतीतर्फको बढ्दो आकर्षणले जमिनको सही उपयोग सँगै स्थानीयवासीलाई आयआर्जनमा सघाउ पु¥याएको छ । यहाँका किसानले वार्षिक रुपमा दुई लाख देखि १२ लाख सम्म कमाउँने गरेका छन् ।