गठबन्धनको चुनावी घरदैलो

पाल्पा/क्षेत्र नं २ का पाल्पाका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले माडी चक्रपथलाई व्यवसायिक र आर्थिक करिडोरका रुपमा विकास गर्ने बताएका छन् । गठबन्धनका उम्मेदवारहरुले शुक्रबार माथागढी गाउँपालिकाको चिदीपानीमा घरदैलो तथा सभामा बोल्दै माडी चक्रपथ आयोजनालाई सम्पन्न गरी व्यवसायिक र आर्थिक करिडोरका रुपमा विकास गर्ने बताएका हुन् ।

पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार सोम प्रसाद पाण्डेले आफू सांसद हुँदा तत्कालिन मन्त्रिपरिषद्को अध्यक्षलाई पेश गरेको माडी चक्रपथ आयोजनालाई सम्पन्न गरी त्यस क्षेत्रको जनताको विकासको लागि व्यवसायिक र आर्थिक करिडोरको रुपमा विकास गर्ने बताए । पाण्डेयले तिनाउ खोलाले यस क्षेत्रमा वर्षेनी माडीका जनतालाई पीडित बनाएको भन्दै तिनाउ खोलाको रेखांकन गरी स्थायी तटबन्ध निर्माण गरिने समेत प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रदेश सभा (२) १ का उम्मेदवार वीर बहादुर रानाले पनि माडी चक्र पथलाई व्यवसायिक र आर्थिक रुपमा जोड्ने गरी काम गर्ने बताए । उनले चिदीपानी क्षेत्रका जनतालाई परेको मर्कामा आफू सदैव हातेमालो गर्न तयार रहेको भन्दै माडी ,चिदीपानी क्षेत्रको समग्र आर्थिक र पूर्वाधार विकासमा आफूले काम गर्ने प्रतिवद्धता जनाए ।

यस्तैगरी क्षेत्र नं. २ प्रदेशसभा २ का उम्मेदवार तुलाराम घर्ती मगरले जिल्लाको रिब्दीकोट गाउँपालिका ४ भैरवस्थान मसुरेमा गठबन्धनको घरदैलो तथा चुनावी सभा गरेका छन् । सभामा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका घर्ती मगरले पर्यटन विकास र आयस्तरवृद्धिमा लाग्ने बताएका छन् । रिब्दीकोटको विकास निर्माणमा आफू पहिलो पटक निर्वाचित भएपछि धेरै काम गरेको बताउँदै बाँकी कामहरु सम्पन्न गर्नको लागि पुनःआफूलाई मत दिन उनले आग्रह गरे ।

सम्बन्धित खवर