रामपुर नगरपालिकाको बजार अनुगमन

पाल्पा/सडक पेटीमा राखिएका सामाग्री र अव्यवस्थित पार्किङ्गको अवस्थाको रामपुर नगरपालिकाले अनुगमन गरेको छ । बजारको  सौन्र्दयकरणमा असर पर्नुका साथै दुर्घटनाको जोखिम बढाएको भन्दै बजार क्षेत्रको अनुगमन गरेको हो । रामपुर नगरपालिकाले विहिबार बेझाँड बजार क्षेत्रको अनुगमन गरेको छ । नगरप्रमुख रमणबहादुर थापा स्वयम अनुगमनमा निस्कनुभएको छ ।

नगरपालिकाले अनुगमनका क्रममा मापदण्ड विपरित व्यापारीक प्रयोजनका लागि सामान राखेका पसलहरुबाट विभिन्न सामाग्रीहरु जफत समेत गरेको छ । साथै पार्किङ्ग निषेध क्षेत्रमा राखिएका मोटरसाईकलको हेलमेट पनि नियन्त्रणमा लिएको थियो ।

अनुगमन नगर प्रमुख रमण बहादुर थापाको नेतृत्वमा भएको हो । नगरपालिकाले ईलाका प्रहरी कार्यालय रामपुर र नगर प्रहरीको सहयोगमा अनुगमनका क्रममा मापदण्ड विपरित राखिएका सामग्रीहरु नियन्त्रणमा लिएको छ । अनुगमनका क्रममा सडक तथा सटर भन्दा बाहिर पेटिमा राखिएका खाद्यान्न, फलफुल, तरकारी, कपडा, खेलौना तथा कास्मेटिक सामान, फार्निसिङ्गका सामाग्री जफत गरेको नगरपालिकाले जनाएको छ ।

बजार अनुगमन बारे नगर प्रमुख रमण बहादुर थापाले बजार क्षेत्रको साँगुरो सडकमा सडक पेटी सम्म सामान राखेर विक्री वितरण गर्दा दुर्घटनाको जोखिम भएकाले न्यूनिकरणका लागि अनुगमन गरिएको बताए । उनले कार्यपालिकाको बैठकको निर्णय अनुसार बजारलाई व्यवस्थित बनाउन व्यवसायीहरुलाई यस अघि नै सूचना गरी सामाग्री नराख्न आग्रह गरे पनि अटेरी गरी सामान राखेका व्यवसायीको सामान जफत गरिएको बताए ।

यस्तै उपप्रमुख बालकुमारी थापाले बजार व्यवस्थापन र सुन्दरतालाई कायम राख्न मापदण्ड अनुरुप सामान राखेर व्यवसाय गर्न आग्रह गरिन् । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले व्यवसायीहरुले नगरको आग्रहलाई वेवास्ता गरे नियम अनुसार कारबाही गरिने बताए ।

सम्बन्धित खवर