
पाल्पा/ चाडपर्वका बेला यात्रुले खेप्नुपर्ने सास्तीको सहजिकरणका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । तानसेन बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा अगाडि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्ले बताए । उनका अनुसार रामपुरमा समेत सहायता कक्षको स्थापना भैसकेको छ ।
पर्वका बेला यात्रुलाई सहज र सुरक्षित रुपमा गन्तव्यमा पु¥याउने लक्ष्यका साथ कक्षको सरु गरिएको ट्राफिक प्रमुख मल्लको भनाइ छ । सहायता कक्षबाट विहान ६ बजे देखि साझ ७ बजे सम्म सेवा प्रवाह हुनेछ । नागरिकको आवश्यकता अनुसार जिल्लाको हार्थोक,आर्यभञ्ज्याङ्ग आदी स्थानमा समेत सहायता केन्द्र स्थापना गरिने छ ।
यात्रु सहायता कक्षको शुभारम्भ गर्दे पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तले यात्रु देशका मालिक भएकोले उनीहरुको सहज र सुखद यात्राका लागि सहायता कक्षले सहजिकरण गर्ने बताए । उनले चाडपर्वका वेला यातायात व्यवसायीहरुले कमाउने भन्दापनि सेवा भावले काम गर्नुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी पन्तले दुर्घटना सवैका लागि अप्रिय रहने बताउदै ट्राफिक नियमको अक्षरश पालना गर्न सवारी चालकलाई आग्रह समेत गरे । उनले भने ‘हामीले अहिले नयाँ भाडादर निर्धारण गरेका छौ । भाडाको सूचि स्पष्टसंग देखिनेगरी राख्न भनिएको छ । कसैले तोकेको भन्दा बढी भाडा लिएको पाइएमा कारवाही गरिने छ ।’
शुभारम्भ कार्यक्रममा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले तोकिएको भन्दा बढी भाडा नतिर्न यात्रुलाई आग्रह गरिन् । उनले पर्वका बेला यात्रु ठगिने र विभिन्न सास्ती खेप्नुपर्ने अवस्थालाई यात्रु सहायता कक्षले सहयोग गर्ने बताइन् । उपप्रमुख सिंजालीले यात्रा सुरक्षित बनाउन सवै पक्षको सहकार्य आवश्यक पर्नेमा जोड दिइन । उनले यात्रामा पर्ने हरेक समस्या समाधानका लागि सहायता कक्षबाट सेवा लिन नागरिकलाई आग्रह समेत गरिन् ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले चाडपर्वका बेला सवारी साधानमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने र सवारी दुर्घटना न्यूनिकरण लगायतका कामहरुका लागि सहायता कक्षले प्रभावकारी रुपमा काम गर्ने विश्वास व्यक्त गरे । प्रहरी नायव उपरीक्षक थापाले क्षमताभन्दा बढी यात्रु नराख्न, मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन,तीव्र गतिमा सवारी साधन नहाक्न,यात्रुमैत्री व्यवहार गर्न समेत व्यवसायीहरुलाई आग्रह गरे । उनले यदी यात्रामा कुनै समस्या भए तत्काल सहायता कक्ष वा प्रहरीलाई खवर गर्न समेत अनुरोध गरे ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि,सामाजिक संस्थाका प्रतिनिधि,यातायात व्यवासयी,पत्रकारलगायतले पर्व लक्षित सहयाता कक्षको प्रभावकारी सञ्चालनका लागि आफुहरुको सक्दो सहयोग गर्ने बताए । उनीहरुले सवारीसाधनमा मापदण्ड अनुसार तोकिएको सिटको प्रयोगमा ध्यान दिनुपर्ने बताए । यात्राका क्रममा यात्रुले कुनै बहानामा सास्ती नपाउनेगरी सेवा प्रवाह गर्न यातायात व्यवासायी र प्रहरीलाई आग्रह समेत गरे ।