तिनाउ सरकारको सय दिन

पाल्पा/ पछिल्लो समय स्थानीय तहहरुले आफ्नो सय दिनको प्रगति सार्वजनिक गर्न थालेका छन् । तानसेन नगरपालिकाबाट सुरु भएको सय दिने कार्यक्रमको प्रगति सार्वजनिक गर्नेकाम बगनासकाली गाउँपालिकाहुँदै तिनाउ गाउँपालिकासम्म पुगेको छ । गएको बिहीबार एक कार्यक्रमका बीच तिनाउ गाउँपालिकाले नयाँ नेतृत्व आएपछिको तिनाउ सरकारको सय दिनको प्रगति विवरण सार्वजनिक गरेको हो ।

सय दिनमा सम्पादन गरेको कार्यलाई ३६ बुँदामा समेटेर गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले उपलब्धी सार्वजनिक गरेका हुन । उनले प्रगति विवरण प्रस्तुत गर्दै तिनाउका जनताको सर्वोच्चहितमा काम गर्ने बताए । अध्यक्ष श्रेष्ठले तिनाउवासीको आवश्यकता र चाहना अनुसार पालिकाले विकासका योजना सञ्चालन गर्ने बताए ।

वितेको एक सय दिनमा गाउँपालिकाको पञ्च वर्षीय आवधिक योजना निर्माण सहित, एक गाउँसभा र नौ वटा कार्यपालिका बैठक बसेको, विभिन्न समिति गठन गरिएको, राजस्व सुधार योजना निर्माण जस्ता काम भएको अध्यक्ष श्रेष्ठले बताए । यसका साथै गाउँपालिकाले आकस्मिक दुर्घटनामा परी घाइते भएमा र महिलाहरुलाई प्रसुतिका लागि पाल्पा र रुपन्देही जिल्लाका अस्पतालसम्म लैजान अनुदान स्वरुप एम्बुलेन्स वा गाडी भाडा राहत स्वरुप उपलब्ध गराउन थालेको बताए । यस्तै पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन,युवा स्वारोजगारलगायतका क्षेत्रको विकासका लागि योजना तथा बजेटलाई प्राथमिकताका साथ अगाडि बढाएको अध्यक्ष श्रेष्ठको भनाइ छ । तिनाउँ गाउँपालिकाले यस वर्ष बालमैत्री गाउँपालिका बनाउनका लागि बजेट बिनियोजन गरी काम सुरु गरेको पालिकाले जनाएको छ ।

अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको कार्यप्रगति विवरणमा भुमिहिन दलित सुकुम्बासी र अव्यवस्थित बसोवासीका लागि जग्गा व्यवस्थापन गर्न राष्ट्रिय भुमि आयोग सँग सम्झौता भएको, लिफ्टिङ खानेपानीको बिलमा २५ प्रतिशत अनुदानको व्यवस्था गरिएको,सामाजिक सुरक्षा भत्ता बैंकसँगको सहकार्यमा सहज रुपमा वितरणको तयारी भएकोलगायतका विषय उल्लेख छन् ।
सार्वजनिकीकरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले छोटो समयमा पनि उल्लेख्य काम गर्न तिनाउँ गाउँपालिका सरकार सफल भएको बताए । उनले जनप्रतिनिधि र कर्मचारीहरुको असल सहकार्यबाट तिनाउँ लागि सम्वृद्ध बनाउन सकिने बताए ।

कार्यक्रममा नेकपा एमाले तिनाउँ गाउँकमिटी अध्यक्ष रोम बहादुर बहादुर लम्तरीले सय दिनको उपलब्धी सार्वजनिक गर्नु सकारात्मक भएको बताए । नेपाली कांग्रेस तिनाउँका सभापति प्रेम पान्डेले कार्यप्रगति विवरण हेर्दा ठूलो उपलब्धी नदेखिएको भएपनि निराश भैहाल्ने अवस्था नरहेको बताए । नेकपा माओवादी केन्द्र तिनाउँका अध्यक्ष दिनेश जिसीले प्रगति प्रतिवेदनको पाना धेरै भएपनि महत्वपूर्ण निर्णय र काम थोरै भएको बताए । नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले गाउँपालिकाले समय समयमा कार्य प्रगति सार्वजनिक गर्दा राम्रो सन्देश जाने बताए । उनले दैनिक प्रशासनिक काम भन्दा जनताले महशुस गर्ने खाले काम गर्न पालिकालाई सुझाव दिए । कार्यक्रम पालिका उपाध्यक्ष लाल बहादुर थापाको स्वागत, प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठको संचालन र गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

सम्बन्धित खवर