पाल्पा एसक्यूसी सम्मेलनको तयारी पुरा

पाल्पा, ७ औं पाल्पा हव एसक्यूसी सम्मेलनको तयारी पुरा भएको आयोजकले जनाएको छ । तानसेनमा पत्रकार सम्मेलन गरी भोली अर्थात भदौ २४ गते हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । कोभिड १९ का कारण दुई वर्ष हुननसकेको सम्मेलन यस पटक हुन लागेको हो । यस पटकको सम्मेलन तानसेनको वृन्दावन एकाडमीको आयोजनामा हुन लागेको हो । सम्मेलन एक दिन सञ्चालन हुने छ ।

विद्यार्थीलाई सैदान्तिक ज्ञान मात्र नभै सर्वाङ्गीण विकासका लागि विद्यार्थी गुणिय चक्र कार्यक्रम प्रभावकारी रहेको विद्यार्थीको व्यक्तित्व विकासका लागि शिक्षामा गुणीयचक्रका केन्द्रीय सदस्य खेमबहादुर सारुले बताए । उनले यस कार्यक्रममा कक्षा एक देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहने बताए । केन्द्रीय सदस्य सारुले चार जना देखि १० जना सम्मका विद्यार्थीहरुको समूह निर्माण गरी कक्षागत रुपमा समस्याको पहिचान,समस्याको कारण,समस्याको असर र प्रभावका साथै समस्या समाधानको उपायका विषयमा अनुसन्धान गरी त्यसको व्यवहारिक प्रयोग र जीवन उपयोगी शिक्षा लिन विद्यार्थी सफल हुने बताए ।

सम्मेलनमा पाल्पाका २२ संस्थागत विद्यालयका दुई सय ३ जना विद्यार्थीको सहभागिता रहने छ । यसका साथै तीन विद्यालयका शिक्षक तथा विद्यार्थी अवलोकनका लागि उपस्थित हुने सम्मेलनका संयोजक रवि पाण्डेले जानकारी दिए । उनका अनुसार सम्मेलमा करिव २ लाख ५० हजार रुपैयाँ विद्यार्थी तथा विद्यालयबाट संकलन भएको र अपुग खर्च आयोजक विद्यालयले व्यहोर्नु पर्ने छ ।

सम्मेलनमा २२ विद्यालयका सहभागी विद्यार्थीले तयार गरेको २२ वटा विषयगत अध्ययनको प्रस्तुति हुने आयोजक वृन्दावन एकाडमीका प्रिन्सिपल भरतप्रसाद न्यौपानेले जानकारी दिए । यसका साथै समानन्तर छलफल, समापन सत्रलगायतका कार्यक्रम हुने छ । असल र सफल व्यक्ति उत्पादनमा यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको कार्यक्रमका सहजकर्ता गंगाबहादुर खत्रीले बताए । पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले संस्थागत विद्यालयमा मात्र नभै सामुदायिक विद्यालयमा पनि यो कार्यक्रम लागू गर्नुपर्ने बताए । उनीहरुले कार्यक्रम संस्थागत विद्यालयमा संचालन भएपनि संस्थागत विद्यालयका विद्यार्थीहरु संस्कार र व्यवहारमा कमजोर देखिएकोले सस विषयमा गम्भीर हुनुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित खवर