एमाले पाल्पाको पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न

विजयकुमार बौडेल

पाल्पा, नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा ईन्चार्ज ठाकुर गैरेले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले जित्नैपर्ने बताएका छन् । उनले एमाले हार्दा देश पनि हार्ने भएकाले जित्नैपर्ने अवस्था आइपरेको बताएका हुन ।

नेकपा एमाले तानसेन, बगनासकाली र चिदीपानिले आयोजना गरेको पालिका स्तरीय प्रशिक्षण कार्यक्रममा नेता गैरेले यस्तो बताएका हुन । देशलाई हार्न नदिन र अपवित्र गठबन्धनको सत्तामोह तोड्न पनि एमालेले निर्वाचन जित्नुपर्ने उनको भनाइ छ । त्यसैले नेता गैरेले जितको सुनिश्चिताका लागि तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

नेता गैरेले नेकपा एमाले चुच्चे नक्सा जारी गर्ने देखि त्यसमा समेटिएको जमिन समेत फिर्ता ल्याउन सक्ने पार्टी भएको भन्दै गठबन्धनले चुच्चे नक्सा छोडेर बुच्चे नक्सालाई निरन्तरता दिएको बताए ।  प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य देवी बस्यालले नेकपा एमालेले आगामी निर्वाचनमा पार्टी नेतृत्वका तीनवटै तहका सरकारले गरेका महत्वपूर्ण कामलाई जनता समक्ष लैजानुपर्ने बताए ।

नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले पार्टी प्रवेशको लहरले एमालेको शक्ति सन्तुलनमा कुनै कमी नआएको बताए । उनले आफ्नै बलबुता र जनाधारका आधारमा एमाले एक्लै चुनाव जित्न सक्षम रहेको दावी गरे ।

कार्यक्रममा नेकपा एमाले पाल्पाका सचिव रामजी पोखरेलले पार्टीबाट अलगिएर माधव नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी पार्टीबाट नेता कार्यकर्ताहरु एमालेमै फर्किने क्रम चलिरहेको बताए । सचिव पोखरेलले चुनावसम्म धेरै नेता कार्यकर्ता फर्किनेमा विश्वस्त रहेको बताए ।

बगनासकाली गाउँ कमिटिका अध्यक्ष हरी पाठक राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा पार्टीले प्रभावकारी भूमिका खेलेको बताए । कार्यक्रममा नेकपा एमाले तानसेन नगर कमिटि अध्यक्ष गुराँस आत्रेयले सत्तारुढ गठबन्धन र यसका नेताहरूले देशलाई गलत दिशातर्फ धकेलेको आरोप लगाए ।

देशलाई सहि बाटोमा लैजान प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेलाई विजयी गराउनुको विकल्प नभएको उनले बताए । जिल्ला कमिटि सदस्य राजकुमार पन्थीले एक वर्षमा परमादेशी गठबन्धन सरकारले देशलाई भ्रष्टाचारमा डुबाएको बताए । कार्यक्रममा पाल्पा निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा (क) का पार्टी सदस्य तथा नेता कार्यक्रताको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर