पाल्पामा डेंगु संक्रमण बढ्दै

पाल्पामा डेंगु रोगको संक्रमण बढ्दै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । संक्रमण संख्या बढेपछि सतर्कता अपनाउन आग्रह समेत गरिएको छ । पछिल्लो समय कोभिड १९ र डेंगु संक्रमणको दर बढ्दा आमजनतामा त्रास फैलिएको छ । तर सावधानका उपाए भने खासै अपनाएको देखिएको छैन् ।

जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि पुगेका बिरामीको परीक्षणमा क्रममा डेंगुका बिरामी भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले प्रमुख डा.राजेन्द्र गिरीले जानकारी दिए । स्वास्थ्य कार्यालय पाल्पाले सरोकारवालाहरुलाई किटजन्य रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरी डेंगु रोगका बारेमा जानकारी गराएको छ । जसमा डेंगुबाट बच्नका लागि सवैपक्षको सहकार्यमा जनचेतना फैलाउनुपर्ने बताए । उनले डेंगु सहित कालजार र स्क्रवटाईफस रोग र पाल्पाको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

अभिमुखीकरण कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले आफ्नो तहबाट डेंगु रोगबाट सुरक्षित रहनका लागि सचेतना कार्यक्रम संचालन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आवश्यक परेको खण्डमा परीक्षण किट समेत खरिदगरी काम गर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सम्भावित विरामीको परीक्षणका लागि किट व्यवस्थापन गर्नुपर्ने बताए । उनले संख्या बढेपछि आतिने भन्दा अहिले देखिनै रोगको नियन्त्रमा लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरुले डेंगु रोगको परीक्षण निशुल्क हुन्छ भन्ने तर, स्वास्थ्य संस्थामा परीक्षण नभएको गुनासो गरे । उनीहरुले निशुल्क भनेपछि परीक्षणको किट र सेवा प्रभावकारी रुपमा संचालन गर्ने अवस्था बनाउनुपर्नेमा जोड दिए । बिरामी सरकारी अस्पतालमा परीक्षण नभएर अन्यन्त्र खर्च गरेर सेवा लिनुपर्ने अवस्था रहेकोले तत्काल किट को व्यवस्थापन गरी सेवा प्रभावकारी रुपमा उपलब्ध गराउनुपर्ने बताए ।

पाल्पामा गएको जेठ महिनामा ३ ,असार महिनामा ११ र साउन महिनामा ७ जना भेटिएको थियो । भदौ १२ गतेसम्मको तथ्यांक अनुसार भदौ महिनामा मात्र १७ जना डेंगु संक्रमित फेला परेकोे स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन तथा फोकल पर्सन मधुसुधन भट्टराईले बताए । उनका अनुसार पाल्पाको अधिकांश स्थानीय तहमा डेंगुका बिरामी भेटिएको छ ।
पहाडी जिल्लामा डेंगु संक्रमणको प्रभाव कम हुने भएपनि पाल्पामा संक्रमणको संख्या बढ्दो छ । बढ्दो जलवायु परिवर्तन र फोहोर व्यवस्थापन पक्ष प्रभावकारी नहुँदा संक्रमणको प्रकोप बढेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु भएको सन्चो हेल्थ केयर प्रा.लिका संचालक डा.झपेन्द्र ढकालले बताए । उनका अनुसार डेंगुको संक्रमण भएका व्यक्तिमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने जस्ता लक्षणहरू देखा पर्न सक्ने बताए । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्छ । जसका लागि लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाय अपनाउन र सचेत हुन स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय