
पाल्पा,लुम्बिनी मेडिकल कलेज, तानसेन ७ प्रभाषमा आमा सुरक्षा कार्यक्रम सुरू भएकाे छ । कलेज र तानसेन नगरपालिका बीच कार्यक्रमकाे सम्झौता भएपिछ कार्यक्रम सुरू भएकाे हाे । तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली र मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेर सेवा सुरू भएकाे जनाएका हुन ।
सम्झौता पछि मेडिकल कलेजमा करिव दुई वर्ष बन्द रहेको आमा सुरक्षा कार्यक्रम सुचारु हुनेभएको हो । आमा सुरक्षा कार्यक्रम अन्तगर्त सेवा प्रवाह गर्दा प्राप्त हुने भूक्तानी रकममा अनावश्यक कर लगाएको र सेवा प्रवाह दर कम भएको जस्ता विषयलाई लिएर सेवा बन्द भएको थियो ।
अहिले आमा तथा नव शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ मा सेवा प्रवाह शुल्कमा केहि परिर्वतन भएका कारण सेवा सञ्चालनका लागि युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजलाई नगरपालिकाले पत्रचार गरे अनुसार मेडिकल कलेज संग संम्झौता भएको स्वास्थ्य शाखा संयोजक झविन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार युनाइटेड मिसन अस्पताल भने सेवा सञ्चालनका विषयमा सम्पर्कमा नआएको बताए ।
अव मेडिकल कलेजमा सेवा लिने सुत्केरीले नियम अनुसार गर्भवती महिलाले स्वास्थ्य संस्थामा प्रोटोकल अनुसार गर्भ जाँच गराएमा गर्भवती उत्प्रेरणा वापत आठ सय प्राप्त गर्ने छन् । यसका साथै स्वास्थ्य संस्थामा सुत्केरी भएवापत यातायता खर्च दुई हजार उपलब्ध गराउनुपर्ने स्वास्थ्य संयोजक न्यौपानेले बताए । सेवा प्रवाह गरेवापत मेडिकल कलेजले सामान्य सुत्केरी गराएको अवस्थामा दुर्य हजार ५ सय, जटिल सुत्केरी गराएको अवस्थामा चार हजार र शल्यक्रिया गर्नुपर्ने अवस्थामा दश हजार भुक्तानी प्राप्त गर्ने छ ।
मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले पाल्पालीको स्वास्थ्य सेवालाई सहज बनाउन सेवा सुचारु गरिएको बताए । उनले सेवा बन्दहुँदा निम्नवर्गका गर्भवती महिलाले समस्या खेप्नुपरेकोले स्थानीय सरकारसंग सहकार्य गर्न लागिएको बताए । अध्यक्ष पोखरेलले अव नियम अनुसार मेडिकल कलेजबाट आमा सुरक्षा कार्यक्रम लागू भएकोले गर्भवती महिलाहरुलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
नगरप्रमुख सन्तोषलाल श्रेष्ठले नगरवासीको स्वास्थ्यप्रति नगर सरकार गम्भीर रहेको बताए । उनले युनाइटेड मिसन अस्पतालमा पनि आमा सुरक्षा कार्यक्रम लागू गर्नका लागि आवश्यक पहल भैरहेको बताए ।
सम्झौता कार्यक्रममा सहभागीहरुले नेपाल सरकारको नीति नियममा रहेर सञ्चालनमा रहेका स्वास्थ्य संस्थाले नेपाल सरकारकै कार्यक्रम लागू नगर्नु दुखद भएको बताए । उनीहरुले कानुनी दायरामा ल्याएर भएपनि सवै स्वास्थ्य संस्थाबाट आमा सुरक्षा कार्यक्रम सञ्चालन हुँदा गर्भवती महिलाका लागि सहज हुने बताए । आर्थिक वर्ष २०७९/८० मा तानसेन नगरपालिकामा मात्रै आमा सुरक्षा कार्यक्रमका लागि एक करोड २८ लाख बजेट रहेको छ ।