
पाल्पा,दोस्रो स्थानीय तह निर्वाचनबाट निर्वाचित तानसेन नगर सरकारले आफ्नो एक सय दिनको प्रगति सार्वजनिक गरेको छ ।
नगरप्रमुख सन्तोषलाल श्रेष्ठले पत्रकार सम्मेलन गरी निर्वाचनको एक सय दिनमा गरेको काम र उपलब्धि सार्वजनिक गरेका हुन । उनले पत्रकारहरु माझ १५ बुद्धाको प्रगति विवरण सार्वजनिक गरे । जसमा नगरवासीले अनुभूत गर्ने खास विषय समेटिएको छैन् ।
नगरप्रमुख श्रेष्ठले नगरसभा,कार्यापालिका बैठक,विभिन्न समिति गठन जस्ता विषयलाई प्राथमिकताका साथ उपलब्धि मानेका छन् । यस्तैगरी ग वर्गका अपाङ्गता भएका व्यक्तिलाई मासिक पाँच सय सामाजिक सुरक्षा भत्ता दिने,वीस यूनिट न्यूनतम विद्युत् खपत गर्ने उपभोक्ताको शुल्क भुक्तानी गर्ने,लघु प्रकृतिका लिफ्ट खानेपानीको खपत हुने विद्युत् महशुलको २५ प्रतिशत भुक्तानी दिन र एकल पुरुषको स्वास्थ्य बिमा गर्ने योजना लागू गरेको नगरप्रमुख श्रेष्ठले बताए ।
नगरपालिकाले पहिलो पटक वडास्तरमा ९० लाख देखि एक करोड १० लाख सम्म वार्षिक वजेट वडामा दिएर नौलो अभ्यास गरेको जनाएको छ । यसका साथै विभिन्न राष्ट्रिय,अन्तराष्ट्रिय र स्थानीय गैरसरकारी संस्था संगको सहकार्यालाई निरन्तरता दिएको उपलब्धिमा उल्लेख छ ।
नगरप्रमुख श्रेष्ठका अनुसार भौतिक पूर्वाधारको लागि विभिन्न योजनाको बोलपत्र आह्वान गरी काम अगाडि बढाएको बताए । उनले राजस्व वृद्धिका लागि सुरु देखिनै क्रियाशील भएको जानकारी दिए । वडाका नागरिकलाई विकासमा सहजिकरणका लागि सवै वडामा प्राविधिक सहितको कर्मचारी व्यवस्थापन ,छाडा पशुचौपायाँको व्यवस्थापन,वडा भवन शिलन्यास जस्ता काम भएको नगरपालिकाले जनाएको छ ।
यसका साथै श्रीनगर पार्कमा भएको राजस्व चुहावट असुलीका लागि जिल्ला प्रशासन कार्यालय पाल्पामा लेखी पठाएको र नगरको जनसंख्याको चाँप र बसाइसराई न्यूनीकरणका लागि कानुन नबाज्नेगरी अभिलेखिकरण गर्ने व्यवस्था मिलाइएको नगरप्रमुख श्रेष्ठले बताए ।
कार्यक्रममा सहभागी पत्रकारहरुले नगरमा नयाँ नेतृत्व आएपछि पनि अपेक्षित उपलब्धि नभएको बताए । उनीहरुले जिल्लाका दश स्थानीय तह मध्य कार्यालयकै गतिविधि भएपनि नियमित पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने अभ्यास नगरपालिकाको सकारात्मक भएको बताए ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले नियमित अनिर्वाय सम्पादन गर्नुपर्ने विषय भन्दा नागरिकले महशुस गर्ने विषयहरुमा ध्यान दिन आग्रह गरे । उनले तानसेन नगरपालिका भित्र खानेपानी,पूर्वाधार विकास,फोहोरमैला व्यवस्थापन, पार्किङलगाएतका विषयमा केन्द्रित भएर काम गर्न सुझाए ।
नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले गाईबस्तुको व्यवस्थापनमा लाग्ने स्थानीय सरकार मान्छको व्यवस्थापनमा ध्यान दिन नसकेको बताए । उनले नगरभित्र मानसिक अवस्था ठिक नभएका मानिसको व्यवस्थापनका विषयमा गम्भीर हुन सकेत आग्रह गरे ।
पत्रकार किष्ण पोखरेलले नगरसरकार सास्कृतिक पर्वको प्रोत्साहनमा कमजोर देखिएको बताए । उनले निर्वाचनका वेला सार्वजनिक गरिएको घोषणा पत्रमा विमानस्थलको कुरा भएपनि अहिले योजनामा नपरेको बताए । यसका साथै नगरभित्रको सार्वजनिक जग्गा व्यवस्थापनका विषयमा समेत प्रश्न राखे ।
अर्का पत्रकार किरण कौशलले पार्किङ व्यवस्थापन नगरि शुल्क उठाउन नमिल्ने बताए । उनले राजस्व संकलन गर्नका लागि सुविधा दिनुपर्ने बताउदै गाडी रोक्दैमा शुल्क उठाउनु गलत भएको बताए ।
पत्रकार देव पचभैयाले रानीमहलमा २१ वटा सामान राखेर शुल्क उठाउनु स्थानीय सरकारको ठगी भएको बताए । उनले निजी क्षेत्रलाई जिम्मा दिएरभएपनि रानीमहल व्यवस्थित गर्नुपर्नेमा जोड दिए । यसका साथै तानसेन ऐतिहासिक,पर्यटकीय साँस्कृतिक सहर भएकोले सोही अनुसार विकासको खाका बनाउनुपर्ने बताए ।
नगरप्रमुख श्रेष्ठले पत्रकारहरुको सुझावलाई आत्मसाथ गर्ने बताए । उनले आफ्नो योजना पनि नगरपालिकालाई राम्रो बनाउने भएको बताए । उनले राम्रो गर्न नसकेपनि नराम्रो हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।