विजयकुमार वौडेल
नेकपा एमाले पाल्पाले अन्तरघातीले पार्टी छाडेर भागेको आरोप लगाएको छ । सोमबार एक विज्ञप्तिमार्फत गत स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन गठबन्धनसंग मिलेर अन्तरघात गरेका केही व्यक्तिहरूले पार्टी छाडेर गएको जनाएको हो ।
पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिमा तानसेन नगरपालिकामा पार्टीका तर्फबाट पटक पटक लाभको पदमा अवसर लिएका व्यक्तिबाट पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध गठबन्धनका उम्मेदवारहरू लाई सघाउने व्यक्तिलाई तत्काल कारबाही गर्न पार्टी पंक्तिबाट नेतृत्वलाई दबाब सिर्जना भएको भएपनि पार्टी नेतृत्वले संयमता अपनाउदै आएको उल्लेख छ ।
तानसेन नगरपालिकाका निवर्तमान नगरप्रमुख अशोककुमार शाही एमाले पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । उनले आइतबार विज्ञप्ति जारी गरेर नेकपा एमालेभित्रबाट विभिन्न घटनाक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार काम हुन नसकेको भन्दै पार्टी परित्याग गरी नेकपा एसमा समाहित भएको जनाएका थिए ।
तर विज्ञप्तिमा उल्लेखित व्यक्तिहरू मध्ये अधिकांशले विज्ञप्तिप्रति असहमति जाहेर गर्दै आफूहरू नेकपा एमाले पार्टीमै दृढतापूर्वक उभिएको बताएको जनाइएको छ । नेकपा एमाले पाल्पामा अध्यक्ष घिमिरेले उक्त विज्ञप्तिबाट पार्टी पंक्ति कुनै भ्रममा नपर्नु हुनको लागि अनुरोध समेत गरेका छन् ।
शाही नेकपा एमालेका तर्फबाट २०५१ सालमा भूमि सुधार आयोग पाल्पा गुल्मी अध्यक्ष भएर लाभको पद लिइसकेका छन् । नेकपा एमालेका तर्फबाट २०५४ र २०७४ सालमा तानसेन नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।
यसका साथै विज्ञप्तिमा आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाअन्तर्गत पाल्पा जिल्लाका सबै क्षेत्र र तहमा नेकपा एमालेको विजयी सुनिश्चित हुनेगरी पार्टी नेतृत्व अगाडि बढिसकेको अवगत गराउँदै सबै पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरूमा उच्च मनोबलका साथ चुनावी अभियानमा लाग्न अपिल गरिएको छ ।