लाखे नाच संरक्षणमा युवा

विजयकुमार बौडेल
नेवारी समुदायमा नाचिने परम्परागत लाखे नाच संस्कृतिको संरक्षण र प्रचार प्रसारमा पाल्पाका युवा लागि परेका छन् ।

युवाहरुको सक्रियतामा पाल्पाको तानसेन, बर्तुंङ, प्रभाष,भैरवस्थानलगाएतका क्षेत्रमा यसवर्ष लाखे नाच प्रदर्शन गरिएको छ । नेवार समुदायले आफ्नो धार्मिक एवं साँस्कृतिक कार्यक्रमका रुपमा देखाउने लाखे नाच देशका विभिन्न भागमा लोकप्रिय छ । कृष्ण शुक्ल पक्षको नागपञ्चमीदेखि कृष्ण जन्मअष्टमीसम्म लाखे नाच दिनहुँ देखाइन्छ । लाखे नाच प्रदर्शनको आज अन्तिम दिन हो ।

जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले आफ्नो मनोरञ्जनका लागि नेवार समुदायबाट इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच शूरु गराएको तथ्य इतिहासका जानकारहरुको भनाइ छ । यस्तै काठमाडौँमा १८ आँै शताब्दीमा राजा जयप्रकाश मल्लले छोराको मृत्युमा भावविह्वल बनेकी रानीलाई सान्त्वना दिन प्रचलनमा ल्याएको गाईजात्राकै एउटा स्वरुपका रुपमा लाखे नाच रहेको जानकार झपेन्द्रबहादुर जिसीले बताए ।

यो नाचलाई स्थान विशेषका रुपमा फरक फरक शैलीमा प्रस्तुत गर्ने गरिए पनि साँस्कृतिकरुपले यो नेवारी समुदायको पर्वका रुपमा रहेको लाखे नाच व्यवस्थापन समिति पाल्पाका अध्यक्ष किरण चित्रकारले बताए । लाखे नाचका बेला कंशको प्रतिकका रूपमा डरलाग्दो राक्षसी रूप गरेको लाखे र अन्य मुकुण्डोधारी उसका सहयोगी सामुहिक रुपमा नेवारी बाजाका तालमा नाचिने चित्रकारले बताए ।

अहिलेको पुस्तालाई लाखे नाचको महत्व र यसको सांस्कृतिक परम्परा थाहा नभएकाले लाखे नाचको महत्वबारे जानकारी दिन लाखे नाच विभिन्न स्थानमा देखाइएको आयोजकले जनाएका छन् । युवाहरुले स्वतस्फुर्त रुपमा आर्थिक संकलन गरी तानसेनको विभिन्न टोलका साथै प्रभाष र बाँसटारीमा समेत लाखे नाच प्रदर्शन गरिएको तानसेन नगरपालिका ७ का वडाध्यक्ष प्रदिप खनालले बताए । उनले लाखे नाच संरक्षणका लागि वडा प्रतिवद्ध रहेको समेत जनाए । वडाध्यक्ष खनालले आगामी दिनमा वडा तहबाट नै बजेट विनियोजन गरेर लाखे नाच संरक्षण र प्रदर्शन गर्ने योजनाका सुाथ अगाडि बढने बताए ।

सम्बन्धित खवर