
विजयकुमार बौडेल
पाल्पा, २८ औं विश्व आदिवासी दिवस २०७९ को अवसरमा गरिने कार्यक्रम सार्वजनिक गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाल्पाले पत्रकार भेटघाट गरी कार्यक्रम सार्वजनिक गरेको हो ।
पत्रकार भेटघाट कार्यक्रममा परिषद्का जिल्ला अध्यक्ष केयरसिहं रानाले पाल्पामा २८ औं आदिवासी जनजाति दिवस त्रिदिवसीय कार्यक्रम गरेर मनाउने तयारी भएको बताए । उनले दिवसका अवसरमा गरिने कार्यक्रम सार्वजनिक समेत गरे ।
यसका साथै अध्यक्ष रानाले आदिबासी जनजातीका सवालमा सरकारले गरेका संन्धी,सम्झौता कार्यान्वयन नगरेकोमा गुनासो व्यक्त गरे । उनले पत्रकारहरुले आदिबासी जनजातिको अधिकारका लागि सरकारले गरेको सहमतीको अक्षरस कार्यान्वयन हुनेगरि पत्रकारहरुले विषय उठान गरिदिनका लागि आग्रह समेत गरे ।
दिवसका अवसरमा पहिलो दिन पत्रकार सम्मेलनगरी सरोकारवाला निकाय तथा सर्वसाधारणमा जानकारी दिइएको छ । यस्तैगरी दोस्रो दिन साउन २३ गते पाल्पा जिल्लाका युवाहरुलाई सशक्तिकरणका लागि सचेतीकरण र चरणवद्ध रुपमा संगठनात्मक प्रशिक्षण सञ्चालन गरिने अध्यक्ष रानाले बताए । कार्यक्रम तानसेन १ गाेर्खेकाेटमा रहेकाे जनजाति महासंघकाे भवनमा हुने छ ।
विश्व आदिवासी दिवस प्रत्यक वर्षको साउन २४ गते मनाउने गरिन्छ । दिवसको दिन अन्तरसंवाद , स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुख सम्मान, कार्यपत्र प्रस्तुत तथा टिप्पणी, खुला सत्रमा सुझाव संकलन तथा घोषणा पत्र जारी गरिने संस्थापक अध्यक्ष गमबहादुर थापाले बताए । उनका अनुसार कार्यक्रमको अन्त्यमा सांस्कृतिक कार्यक्रम समेत गरिने जानकारी दिए ।