एमाले प्रचार विभागको बैठक सम्पन्न

पाल्पा,नेकपा एमाले पाल्पाको प्रचार तथा प्रकाशन विभागको बैठक सकिएको छ । बैठकले विभागको सचिवमा मिलन विश्वकर्मालाई चयन गरेको छ ।

बैठकले प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज समेत रहेका विश्वकर्मालाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताए । यस्तै बैठकले आगामी एक वर्षका लागि कार्ययोजना निर्माण गर्न समिति गठन गरेको छ । जसमा कमलराज तिमिल्सेना, किरण कौशल र कृष्ण कार्की सदस्य रहेका छन् । गठित समितिले आगामी विभागको बैठकमा कार्ययोजना पेस गर्ने निर्णय भएको छ ।

बैठकमा सहभागी सदस्यले जिल्लामा अहिलेसम्म पत्रकारिता क्षेत्रमा भएका गतिविधिका बारेमा रिपोर्टिङ गरेका थिए ।
बैठकमा प्रमुख अतिथि नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले कार्ययोजना बनाएर जतिसक्दो छिटो प्रचार विभागको कामकारबाही अगाडि बढाउन निर्देशन दिए । कार्ययोजनाअनुरुप काम सम्पन्न गर्नको लागि पार्टीले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

साथै यही साउन २८ गते हुन गइरहेको पार्टीको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्नेगरी प्रचार प्रचार गर्न आग्रह समेत गरे । उनका अनुसार भदौ २० गते भित्र जिल्लाका १० स्थानीय तह र ८१ वटा वडामा पार्टीको प्रशिक्षण कार्यक्रम सम्पन्न गरिने छ ।

प्रचार तथा प्रकाशन विभागका पूर्व प्रमुख तथा पार्टीका तानसेन नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले प्रचार विभागका गतिविधिले पार्टीलाई ठूलो सहयोग मिल्ने बताए । विभागका रचनात्मक कामलाई पार्टीले सहयोग गर्नुपर्छ । पार्टीले गरेका राम्रा कामको प्रभावकारी रुपमा प्रचार हुन सके पार्टी बलियो हुने उनले बताए ।

पार्टी सचिव रामजी पोखरेलको अध्यक्षतामा बसेको बैठकमा पार्टीका लुम्बिनी प्रदेश सदस्य नारायणी शर्मा घिमिरे, जिल्ला उपाध्यक्ष देवीलाल लामिछाने, कार्यालय सचिव दीपक विश्वकर्माको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर