पाल्पा,नेकपा एमाले पाल्पाको जनवर्गीय संगठन समन्वय समयन्त्रको बैठक बसेको छ ।
जनवर्गीय संगठन समन्वय संयन्त्र (मोर्चाफाँट) का प्रमुख टीकाबहादुर थापाको अध्यक्षतामा बैठक बसेको हो । उनले बैठकमा जिल्लामा २३ वटा जनवर्गीय संगठन रहेको बताउदै अधिकांश संगठनको सक्रिय प्रभाकारी रहेको जानकारी दिए । केही निस्क्रिय रहेका संगठनको पनि भेला तथा छलफल गरी क्रियाशील बनाइने बताए ।
प्रमुख थापाले अधिवेशन गर्न बाँकी संगठनले साउन महिना भित्र बैठक बस्ने, अधिवेशन सम्पन्न गर्ने, नयाँ सदस्यता वितरण गर्ने, सदस्यता नवीकरण गर्ने, पार्टीले निर्देशन गरेका निर्णय कार्यान्वयन गर्नका लागि प्रभावकारी गतिविधि सञ्चालन गर्नेगरि काम अगाडि बढेको बताए ।
बैठकमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नारायणी शर्माले जनवर्गीय संगठनको क्रियाशीलताले नेकपा एमाले पार्टी बलियो बन्ने बताइन । उनले जनताको सर्वोच्च हित हुनेगरि संगठनले काम गर्दा नागरिक ् पार्टी दुवैपक्षलाई फाइदा पुग्ने विश्वास व्यक्त गरिन ।
एमाले पाल्पाका उपाध्यक्ष देवीलाल लामिछानेले पार्टीसँगको समन्वयमा जनवर्गीय संगठन सक्रिय बन्नुपर्ने बताए । उनले संगठनका हरेक अभियान सफल बनाउन पार्टीले सक्दो सहयोग गर्न प्रतिवद्धता व्यक्त गरे ।
एमाले पाल्पाका सचिव रामजी पोखरेलले पार्टीले गरेको निर्णयको सर्कुलर बारे जानकारी गराउदै तोकिएको मितिमा बैठक तथा अधिवेशन सम्पन्न गर्न निर्देशन दिए । उनले संगठनलाई चुस्तदुरुस्त गराउदै कमिटीका गतिविधिलाई आगामी प्रदेश र संघीय निर्वाचन केन्द्रित बनाउन आग्रह समेत गरे ।
बैठकमा जिल्लास्थित सबै जनवर्गीय संगठनका इन्चार्ज, जिल्ला अध्यक्ष, पार्टीका जिल्ला कमिटी र प्रदेश कमिटिका नेताहरूको उपस्थिति रहेको थियो । सबै अध्यक्षहरूले आ–आफ्ना संगठनले गरेको गतिविधी र प्रगतिका साथै भावी योजनाबारे रिपोर्टिङ गरेका थिए ।