
पाल्पा,नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले सबैखाले अपाङ्गता भएका व्यक्तिको आवश्यकता पहिचान गरि तत्काल सेवा दिने जनाएको छ ।
मंगलबार संघमा आयोजित सरोकारवालाहरु संगको बैठकमा अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसंख्यक र एचआइभी संक्रमित नागरिकको आवश्यकता पहिचान गरि सेवा दिने संघका शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले जानकारी गराए । उनले अष्ट्रेलियन सरकारको सहयोगमा संचालित डिएफएक्ट परियोजनामार्फत सेवा उपलव्ध गराउदै आएको जानकारी दिए ।
शाखा प्रवन्धक न्यौपानेले अहिले पनि समुदाय स्तरमा यौनिक अल्पसंख्यकहरु लुकेर बस्नु पर्ने अवस्था रहेको,अपाङ्गता भएका व्यक्तिले स्वास्थ्य सेवा लिनबाट वञ्चित भएको अवस्थालाई मध्यनजर गरि परियोजनाले जिल्लाभरी काम गर्दे आएको बताए । अहिले सिमित व्यक्तिहरु सम्पर्कमा रहेर सेवा लिएको समेत उनले बताए ।
संघले विगतदेखि तानसेन ९ को दमकडा नमूना माध्यमिक विद्यालयको दृष्टिविहिन शाखा तथा काजिपौंवाको सिर्जनशील अपाङ्गता स्वावलम्बन केन्द्रमा स्वास्थय परीक्षण तथा आवश्यक सामग्री समेत उपलब्ध गराउदै आएको छ । यसैबीच यौनिक अल्पसंख्यक तथा सबैखाले अपाङ्गता भएका व्यक्तिहरुलाई संगठित गर्ने तथा बढ्दो कोरोना महामारीलाई न्यूनिकरण गर्न मास्क सेनिटाइजर जस्ता स्वास्थ्य सामग्री उपलब्ध गराउने जनाएको छ । अपाङ्गता भएका व्यक्ति र यौनिक अल्पसंख्यकहरुको प्रजनन् स्वास्थ्य अधिकारको प्रत्याभूत गराउन प्रयोगशाला सहितको स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने तयारीमा संघ लागेको छ ।
बैठकमा राष्ट्रिय अपाङ्ग महासंघका प्रदेश सदस्य तथा सिर्जनशील अपाङ्गता स्वावलम्बन केन्द्रका अध्यक्ष सन्दीप भट्टराईले आफूहरुलाई सूचना लिन समेत समस्या भएको बताए । उनले आफुहरुको लागि सवै निकायले श्रव्य, दृश्य र लिखित रुपमा सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए ।
बैठकमा सहभागिहरुले सिमित क्षेत्रमा नभै जिल्ला भर सेवा प्रवाह गर्न आग्रह गरे । उनीहरुले घरमै रहेका कुनै संघसंस्थामा पुग्न नसकेका अपाङ्गता भएका व्यक्तिको सेवाका लागि स्थानीय तह संगको समन्वयमा काम गर्न सुभाव दिएका थिए । बैठक संघकी उपाध्यक्ष ज्योतिराज भण्डारीको अध्यक्षतामा बसेको हो । उनले प्राप्त सुझाव अनुसार परियोजनाका कार्यक्रम अगाडि बढाउने बताइन ।