पाल्पा, नेकपा एमाले पाल्पाको संगठन विभागको बैठक सम्पन्न भएको छ । बैठकले विभागको सचिवमा तानसेन नगर कमिटीका अध्यक्ष गुराँस आत्रेयलाई चयन गरेको छ ।
बैठकले पार्टी सदस्यता नविकरण शुल्क र नयाँ सदस्यता शुल्क समेत तोकेको छ । जसमा नविकरणका लागि तीन सय र नयाँ सदस्यता शुल्क एक सय रुपैयाँ निर्धारण गरेको सचिव गुराँस आत्रेयले जानकारी दिए । उनका अनुसार साउन मसान्त भित्र सबै पार्टी सदस्यको नविकरण गर्ने, नयाँ सदस्यता थप गर्ने बैठकले निर्णय गरेको छ ।
यसका साथै भदौ मसान्तसम्म जिल्ला, स्थानीय तह र वडास्तरसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने,पार्टीका सबै संगठित सदस्यहरुको नामावली मोबाइल एप्समा अभिलेखबद्ध गर्नेगरि अगाडि बढ्ने निर्णय गरेको छ ।
बैठकमा नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पाल्पा इन्चार्ज ठाकुर गैरेले अहिलेको गठबन्धनको सरकारले राष्ट्रियताको रक्षा गर्न नसकेको आरोप लगाए । उनले देशमा आर्थिक विकास गर्न नसकेका कारण मूलुकको विकासका लागि नेकपा एमालेको सरकार आवश्यक रहेको बताए ।
नेकपा एमाले पाल्पामा अध्यक्ष धनेन्द्रराज घिमिरेले नेकपा एमाले पाल्पा सांगठनिक रुपमा प्रदेशमै पहिलो भएको बताए । उनले नेकपा एमालेलाई सफल बनाउन सहयोग गर्ने सवै मतदातालाई धन्यवाद ज्ञापन गरे ।
बैठकमा प्रदेश कमिटी सचिवालय सदस्य तथा सांसद नारायणप्रसाद आचार्य,प्रदेश कमिटी सदस्य देवी प्रसाद बस्याल,राम बहादुर राउत,जिल्ला उपाध्यक्ष देविलाल लामिछानेले नेकपा एमाले जनताको पार्टी भएको बताए ।
बैठक विभागा अध्यक्ष रामजी पोखरेल अध्यक्षतामा चलेको कार्यालय सचिव दिपक विश्वकर्माले बताए । एमालेको संगठन विभागमा स्थानीय तहका पार्टी कमिटी अध्यक्षहरु रहने व्यवस्था छ ।