
पाल्पा,तिनाउ गाउँपालिका ३ मा रहेको सिद्ध सरोवर (भुतखोला ) झरना को उद्घाटन गरिएको छ । झरना क्षेत्रमा डिभिजन वन कार्यालयको २० लाख , तिनाउ गाउँपालिका र स्थानीयको जनश्रमदानमा करिव २४ लाखको लागतमा सौन्दर्यीकरण तथा व्यवस्थापनको काम भएपछि झरनाको उद्घाटन गरिएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले झरना उद्घाटन गर्दे प्राकृतिक संरचनाहरुलाई प्राकृतिक रुपमै सौन्दर्र्यीकरण गर्नुपर्र्ने बताए । उनले आधुनिकता र विकासका नाममा प्रकृतिमा सिमेन्ट र फलामका पूर्वाधारहरु निर्माण गर्दा प्राकृतिक सुन्दरता बिग्रने बताए । मुख्यमन्त्री केसीले प्रकृति आफैमा सुन्दर भएकोले यसैलाइ सजाउन र प्रकृतिबाटै समृद्धि खोज्नुपर्नेमा जोड दिए ।
वन तथा वातावरण मन्त्री सुरेन्द्र हमालले उपभोक्ताहरुको निरन्तर परिश्रमबाट भुतखोला झरनाको सुन्दरता थपिएको बताए । उनले तिनाउ गाउँपालिका सम्भावना नै सम्भावनाले भरिपूर्ण पालिका रहेकोले वनक्षेत्र र प्राकृतिक श्रोतको अधिकतम सदुपयोग गरी जनताको जीवनस्तर सुधार गर्नुपर्ने बताए ।
प्रदेश सभा सदस्य तुलाराम घर्ती (बसन्त) ले वन,पाखा,खोला,खोल्सी सबैतिरको अथाह सम्भावनाहरुलाई भुतखोला झरना जस्तै उजागर गर्नुपर्ने बताए । उनले जसबाट अर्थतन्त्रको विकासका साथै नागरिकमा स्वरोजगारी सिर्जना हुने बताए ।
तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले पर्यापर्यटन विकास तिनाउ सरकारको उच्च प्राथमिकतामा रहेको बताए । उनले भुतखोला झरनामा आउने पर्यटकहरुलाई शौचालय अभाव देखिएको हुँदा गाउँपालिकाबाट शौचालय निर्माणमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
डिभिजन वन अधिकृत दिपक ज्ञवालीले डिभिजन वन कार्यालय द्वारा निर्मित संरचनाहरु पूर्णरुपमा पर्यावरण मैत्री रहेको बताए । उनले उपभोक्ताहरुको सहभागिता र अपनत्वमा योजना संचालन भएकोले दिगोपन हुने बताए । वन अधिकृत ज्ञवालीले सरकारको लगानी खेर जान नदिनको लागि आयोजनाहरुबाट प्रतिफल स्वरुप आम्दानीको स्रोत समेत सूरुवात हुन लागेको बताए ।
धार्मिक एवम पुण्यभूमी सिद्ध सरोवर धार्मिक तथा पर्यापर्यटनको दृष्टिकोणले आकर्षणको केन्द्र बन्दै गएको छ । झरनाको थप व्यवस्थापनका लागि प्रवेश शुल्कको समेत सुरुवात गरिएको छ । जसमा झरना प्रवेशका लागि नेपाली नागरिकको लागि २०, विदेशी नागरिकका लागि ५० र विद्यार्थीका लागि १० रुपैयाँ लाग्ने छ । झराना प्रवेश पछि पौडी खेल्न इच्छुक व्यक्तिले थप ५० रुपैयाँ पौडी शुल्क तिर्नुपर्ने छ । झरनाको सौन्दर्यीकरण गरेपछि अहिले दैनिक ५ सय बढी आन्तरिक तथा भारत लगाएत अन्य विदेशी पर्यटकहरु आउने गरेको वन उपभोक्ता समितिले जनाएको छ ।
यसको ब्यबस्थापन भुतखोला सामुदायिक वन उपभोक्ता समुहले गर्नेछ । उद्घाटन कार्यक्रम भुतखोला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दिलकुमारी रोका मगरको अध्यक्षता र सचिब सन्तोष शेरचनको संचालनमा भएको हो ।
यसै बिच झरना परिसरमा भगवान शिवको मुर्तीको प्राणप्रतिष्ठा गरिएको छ । यस झरनाको जल धार्मिक हिसाबले पबित्र मानिएकोले साउन महिनाको सोमबारको दिनमा सिद्धबाबामा जलार्पण गर्ने पुरानो प्रचलन छ । मुख्यमन्त्री केसी र डिभिजन वन अधिकृत ज्ञवालीले संयुक्त रुपमा वैदिक विधिपुर्बक पूजा अचर्ना गर्नुका साथै सिद्धबाबा मन्दिरका मुल पुरोहित नारायणप्रसाद घिमिरेबाट स्वस्तिवाचनमा शिव भगवानको मुर्ती स्थापना गरिएको डिभिजन वन कार्यालयका रेन्जर यमलाल पोखरेलले जानकारी दिए ।