लुम्बिनी मेडिकल कलेजबाट सरकारले हटायो बीमा सेवा

पाल्पा,लुम्बिनी मेडिकल कलेज प्रभासमा नेपाल सरकारले स्वास्थ्य बीमा सेवा हटाएको छ । आर्थिक वर्ष २०७९।८० को बजेट वक्तव्यमा नयाँ आर्थिक वर्ष शूरु भएपछि सरकारी र सामुदायिक स्वास्थ्य सेवा प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य बीमा कार्यक्रमा उपलब्ध हुने घोषणा भएकोले कलेजबाट बीमा अन्तर्गतका सवै सेवा बन्द भएको हो ।

कलेजले बीमा मार्फत स्वास्थ्य सेवा उपलब्ध गराउदाँ पाल्पा लगाएत छिमेकी जिल्लाका नागरिकले समेत सहज रुपमा सेवा पाएको कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले बताए । उनले कलेजको आफ्नो निर्णयले स्वास्थ्य बीमा कार्यक्रम बन्द नभएको समेत बताए ।

अध्यक्ष पोखरेलले सरकारको नीति र निर्णय अनुसार सेवा बन्द गर्नुपरेकोमा दुख लागेको बताए । उनले करुवान्यूज संग भने “हामीले नागरिकको सहज स्वास्थ्य सेवा पहुँचका लागि बक्यौताको समेत ध्यान नदिएर सेवा उपलब्ध गराएका थियौं ” । जसका कारण कलेजलाई आर्थिक,प्रशासनिक रुपमा समस्या भएपनि सेवा निरन्तर दिने सोच भएपनि सरकारको निर्णयले सेवा प्रवाह बन्द गर्नु परेको कार्यकारी अध्यक्ष पोखरेलले बताए ।

कलेजले बीमा बोर्ड संग असार मसान्त सम्मको मात्रै १८ करोड ८३ साल ३७ हजार २ सय ९१ रुपैयाँ भूक्तानी दाबी गरेको रकम लिन बाँकी रहेको प्रवक्ता कृष्ण पराजुलीले बताए । उनले भूक्तानी रकम लिन बाँकी भएका कारण सेवा बन्द गरेकाे नभै सरकारको निर्णयका कारण सेवा बन्द भएको बताए । उनले कलेजको सूचनाका आधारमा मात्र समाचारहरु लेख्न पत्रकार तथा संचारकर्मीहरुलाई आग्रह गरे । केहि मिडियामा बक्यौताका कारण बीमा सेवा बन्द आसयको समाचारहरु प्रति केन्द्रित रहेर प्रवक्ता पराजुलीले सत्य तथ्य बुझेरमात्र समाचार लेख्नुपर्ने बताए ।

कलेजले बीमा कार्यक्रम संचालनका विषयमा बीमा बोर्ड संग समन्वय गरेपनि सकारात्मक नतिजा नआएपछि साउन ३ गते मंगलबार राति १२ बजेदेखि स्वास्थ्य बीमातर्फका सम्पूर्ण सेवाहरु स्थगन गरिएको सूचना जारी गरेको थियो । सूचनामा नेपाल सरकारको निजी स्वास्थ्य संस्था तथा मेडिकल कलेजलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी नगराउने निर्णय अनुसार बीमा तर्फको सेवा बन्द गरिएको जनाएको छ । सरकारबाट पुनः निजी संस्थामार्फत सेवा दिने निर्णय भएमा सेवा दिन कलेज प्रतिवद्ध रहेको कलेजका प्रवक्ता पराजुलीले बताए । बीमा बाहेकका बहिरङ्ग , अन्तरङ्ग र आकस्मिक लगायतका सम्पूर्ण सेवाहरु यथावत रुपमा कलेजले उपलव्ध गराउदै आएको छ ।

लुम्बिनी मेडिकल कलेज प्रभासले २०७३ भदौ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत रेफरल सेन्टर तथा प्रथम बिन्दुका रुपमा सेवा उपलव्ध गराउदै आएको थियो । कलेजमा स्वास्थ्य बीमाको सेवा बन्द भएपछि पाल्पाली नागरिकहरु स्वास्थ्य सेवाका लागि झन् दुख पाउने भएका छन् ।

जिल्लामा भएका सरकारी र सामुदायिक स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार,दक्ष जनशक्ति,प्रविधियूक्त उपकरण र प्रयाप्त औषधीको व्यवस्थापन बिना नीजि स्वास्थ्य संस्थामा बीमा सेवा बन्द गर्ने सरकारी निर्णयले नागरिकलाई सास्ती थपेको सरोकारवालाहरुको भनाई रहेको छ ।

सम्बन्धित खवर