पाल्पा ,साउन ६ र ७ गते हेटौंडामा हुन लागेको नेपाल प्रेस युनियनको ९ औं केन्द्रीय महाधिवेशनमा पाल्पाली पत्रकार माधवप्रसाद अर्याल र सिता डोटेलले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
अर्यालले सचिव तर्फको खुल्ला पदमा र डोटेलले केन्द्रिय सदस्य ( महिला ) मा आफ्नो उम्मेद्बारी दिने सामाजिक संजाल मार्फत सार्वजनिक गरेका हुन् ।
लामो समयदेखि युनियनको केन्द्रीय सदस्य पदमा रहेका अर्यालले युनियनको सृदृढीकरण र विविध समस्याबाट गुज्रिदै आएका मिडियाको उत्थानसंगै पत्रकारहरुको संरक्षणका लागि सचिव पदमा उम्मेदवारी दिने बताएका छन् । उनले मत खेर नजाने र मतको दुरुपयोग समेत हुन नदिने प्रतिवद्धताका साथ मतदाताहरु संग मत मागेका छन् ।
यस्तै डोटेलले पनि पेशागत सुरक्षा, मर्यादा र सांगठनिक गतिविधिलाई सक्रिय बनाउन, पत्रकारको नेतृत्व र क्षमता विकास साथै अबसरको खोजी र व्यबस्थापनमा जोड दिदै आफ्नो उम्मेदबारी रहेको जनाएकी छन् ।
दुई दशकदेखि व्यवसायिक पत्रकारितामा संलग्न रहेका अर्याल हाल कान्तिपुर दैनिकको उप सम्पादक सहित विभिन्न मिडियामा क्रियाशिल छन् भने डोटेल सवल न्यूज डटकमकी संम्पादक र दैनिक पत्रका लागि रामपुरमा रहेर पत्रकारिता गर्दै आएकी छन् ।