
पाल्पा । पाल्पा दरबार संग्रहालयमा खस आर्य कक्ष निर्माण भएको छ । खसआर्य अन्तर्गत हुने विवाहको झलक पनि राखिएको । मण्डप र मण्डपको पश्चिमपट्टी पुजारी छन् । पुजारीको दाँया साइडमा दुलाहा दुलही राख्ने तयारी गरिएको छ । दुलाहा दुलही सिंँगारको अन्तिम चरणमा छ । जसले गर्दा दरबारको अर्को आकर्षण हुने पाल्पा दरबार संग्रहालयका निमित्त प्रमुख चन्द्रबहादुर वलीले जानकारी दिए ।
पाल्पा दरबार संग्रहालयमा विभिन्न जातजाती, भाषाभाषीका साथै परम्परागत वस्तु राखिएको छ । ‘खसआर्यको विवाहमा हुने प्रक्रिया पुरै राखिएको छ,’ वलीले भने, ‘जसले गर्दा दरबारको आकर्षण पनि बढ्ने छ ।’ पण्डित र दुलाहादुलहीको आकर्षणका लागि सिसाले घेरेर राखिनेछ । यसको तयारी भइरहेको पण्डित धर्मचन्द्र नेपालले बताए । केही दिनमा दरबारको पश्चिमपट्टीबाट डोलीमा दुलही राखेर भित्रयाउने तयारी गरिएको छ । पूजाआजासंगै दुलाहादुलहीलाई मण्डपमा राखिनेछ । सुटबुटसहित जन्तीले लगेर राख्ने तयारी गरेको उनले बताए ।
यसअघि पाल्पा दरबार संग्रहालयमा थारु, मगर कक्ष निर्माण भइसकेको छ । नेपाल रहेका आदिवासी जनजाति थारु समुदायसँग प्रत्यक्ष सरोकार रहेका भेषभूषा, रितीरिवाज तथा सामाग्रीहरु प्रदर्शनमा राखिएका छन् । मगर कक्षमा पनि मगर समुदायसँग प्रत्यक्ष सरोकार राख्ने भेषभूषा, रितीरिवाज तथा सामाग्रीहरु प्रदर्शनीमा रािखएको छ । पाल्पामा प्राचिनकालदेखि बसोवास गर्ने जातजातिका रुपमा भने मगरलाई नै लिइने गर्छ । मगरहरुको आफ्नै किसिमको संस्कृति रहेको छ । मगरको संस्कृति झल्कने सामाग्री पनि हेर्न पाइन्छ ।
यस्तै पाल्पा दरबार संग्रहालयमा मुख्य आकर्षणका रुपमा सैनिक संग्रहालय पनि रहेको छ । जहाँ बीर÷वैभव मार्ग (वरण्डा) नेपाली सेनाले निर्वाह गरेको भूमिकाहरुको छवि झल्कने गरी फोटो प्रदर्शनी राखिएको छ । जहाँ ऐतिहासिक अभिकलन कक्षा, शाह वशीय राजाहरु, नेपाली सेनाका सैनिक प्रमुखहरु र वीर गति प्राप्त योद्धाहरुको फोटो रहेको छ ।
यस्तै नेपाल–अंग्रेज युद्ध तथा एकीकरण पदछाप, ऐतिहासिक शस्त्र, अस्त्र कष, हतियार तथा युद्धका सामग्रीहरु पनि दरबारका आकर्षण हुन् । पाल्पा दरबार संग्रहालयको प्रदर्शनी कक्षमा यस क्षेत्रको इतिहास र संस्कृति झल्कने विभिन्न सामाग्रीहरु राखिएको छ । पाल्पाको इतिहास झल्काउने हिसाबले पाल्पको सेनवंशको वंशावलीको फोटो राखिएको छ । जसबाट पाल्पा क्षेत्रमा राज्य गर्ने राजाहरुको नाम र राज्य वर्ष बुझ्न सहज हुनेछ । साथसाथै पाल्पा दरबारको पुरानो फोटो, बग्गीढोकाको फोटो, रणउजीरेश्वरीको मुर्तिको फोटो, अर्गली दरबार, रानीमहल दरबारका फोटाहरु प्रदर्शनीमा राखिएको छ । जसबाट यस क्षेत्रमा भएका महत्वपूर्ण साँस्कृतिक सम्पदाहरुको बारेमा जानकारी लिन सकिन्छ ।
यस बाहेक पाल्पा क्षेत्रभन्दा बाहिर लुम्बिनी प्रदेशलाई प्रतिनिधित्व गर्ने लुम्बिनी, गोटिहवा, निग्लिहवाको फोटो पनि प्रदर्शनीमा राखिएको छ । यसले यसक्षेत्रमा भएका बौद्ध धर्मसँग सम्बन्धित स्थानहरुको बारेमा जानकारी दिएको छ । लुम्बिनी, कपिलवस्तु, जितगढी, मणिमुकुन्देश्वर दरबार, पुरानो पाल्पा दरबार, काठमाडौ, ललितपुर, भक्तपुर, स्वयम्भु, बौद्धनाथ, पशुपति, चाँगुनारायणका फोटाहरु पनि प्रदर्शनी गरिएको छ ।