तानसेन नगरपालिकाको सार्वजनिक सुनुवाई

पाल्पा, तानसेन नगरपालिकाको सेवा प्रवाहका विषयमा सार्वजनिक सुनुवाई गरिएको छ ।

सेवाग्राहीको कम्जोर सहभागीतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्ज बाँकेले छनौट गरेको सेवा प्रदायक संस्था असल छिमेकी नामक संस्थाको सहजीकरणमा सार्वजनिक सुनवाई भएको हो ।

तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले सुशासन र पारदर्शीताका लागि आगामी पाँच वर्षमा सक्ने जति काम गर्ने बताए । उनले सहरी क्षेत्रमा भन्दा बढी ग्रामीण क्षेत्रमा बढी विकास निर्माणको आवश्यकता रहेको बताए । नगरपालिकामा हुने विकास निर्माणका कामदेखि लिएर सवै गतिविधिमा पारदर्शीता हुने उनले बताए । शिक्षा, स्वास्थ्य, पर्यटन विकासका साथै भौतिक पूर्वाधारमा जोड दिएर काम गर्ने बताउँदै उनले सकेसम्म नगरपालिकामा सुशासन कायम गराउने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउने प्रयास भइरहेको बताए । तानसेन नगरपालिकाका बरिष्ठ अधिकृत विष्णु पौडेलले चालू आर्थिक बर्षमा ५६ प्रतिशत चालु र ४४ प्रतिशत पुँजीगत खर्च रहेको बताउँदै कार्यान्वयन पक्ष धेरै कमजोर रहेको बताए । निर्माण व्यवसायी, उपभोक्ता समितिले सही ढंगले र समयमा काम नगर्दा नै समस्या आउने गरेको उनले बताए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नागरिक समाजका सचिव भेषराज सुवेदीले सरकारबाट हुने कामकारबाही चुस्त र दुरुस्त बनाई सार्वजनिक सेवा प्रवाहलाई सही ढंगले संचालन गर्नुपर्नेमा जोड दिए । उनले सार्वजनिक सुनुवाईमा सेवा प्रवाहका विषयमा प्रश्न गर्ने नागरिकको सहभागीता नहुँदा मर्म अनुसार कार्यक्रम नभएको गुनासो गरे ।

मानवअधिकार तथा शान्ति समाजका कृष्ण बहादुर रावलले स्थानीय तहमा बढी भ्रष्ट्राचार भयो भन्ने गुनासा धेरै भएकाले यस विषयमा सचेत रहँदै आर्थिक पारदर्शितामा जोड दिनुपर्ने बताए । टोल विकास संस्थाका केशव पौडेलले राजनीतिक रुपमा धेरै बाहेस हुने प्रवृत्ति कमी गर्दै सुशासन र पारदर्शीतामा जोड दिनुपर्ने बताए । कार्यक्रम नगरप्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षता र सामाजिक विकास अधिकृत भरत आचार्यको संचालनमा भएको हो ।

सम्बन्धित खवर