
पाल्पा,जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले धानको आयात प्रतिस्थापन गर्ने गरी धानको खेती गर्नुपर्ने बताएका छन् ।
उनले १९ औं राष्ट्रिय धान दिवसका अवसरमा पूर्वखोला गाउँपालिका र कृषि ज्ञान केन्द्रको संयुक्त आयोजनामा पूर्वखोलामा भएको धान दिवसको विशेष कार्यक्रममा यस्तो बताएका हुन् । प्रमुख खनालले धानमा आत्मनिर्भर भएर निर्यातको वातावरण बनाउने गरी कृषक अगाडि बढ्नु पर्ने समेत बताए । स्थानीय सरकार कृषको आबश्यकता र मागका आधारमा खेतीलाई आधुनिकीकरणमा सहजीकरण गर्नुपर्नेमा प्रमुख खनालको जोड दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले किसानको मागलाई ध्यानमा राखेर सहयोग गर्दे आएको बताए । उनले धानको रैथाने प्रजातीको विउको संरक्षण र उत्पादनलाई पालिकाले प्राथमिकता दिएको बताए । अध्यक्ष थापाले एक दिन दिवसका रुपमा मात्र १५ असारलाई मनाउने भन्दा यसलाई परम्परागत संस्कृतीका रुपमा विकास गरिदै लैजाने बताए ।
कृषि ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारी भट्राईले धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको बताइन् । उनले आफ्नै खेतमा उम्रियको धानको भात खाने अवस्था कृषकले बनाउनुपर्नेमा जोड दिईन् । प्रमुख अधिकारी भट्राईले कृषिकलाई उत्साह थप्न र खेतीप्रति कृषकको ध्यान केन्द्रित गर्ने यो कार्यक्रम आयोजना गरिएको समेत बताइन् ।
कार्यक्रममा पूरुष र महिला हिलो दौड प्रतियोगीता समेत गरिएको थियो । यस्का साथै स्मार्ट कृषि गाउँका रुपमा पौरखनी स्मार्ट कृषि गाउँका रुपमा पुरस्कृती समेत गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यक्रममा सहभागी किसानहरु मानो रोपरेर मुरी फलाउने दिन भन्दै असारे भाका गाउँदै, हिलो छ्यापाछ्याप गरेर दिवस मनाएका थिए । कार्यक्रम गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष कंडेलको संचालनमा भएको हो ।
२०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपाल पनि सोही वर्षको मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय भएअनुसार वि.सं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।