![निस्दीको एघारौं गाउँसभा सकियो](https://karuwanews.com/wp-content/uploads/2022/06/15-1290x580.jpg)
पाल्पा ,निस्दी गाउँपालिकाको एघारौं गाउँ सभा सम्पन्न सकिएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को लागि कुल ६४ करोड ९८ लाख ६ हजार ५ सय ७० रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ ।
सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले आगामी ५ वर्ष भित्र गाउँपालिकालाई विकासशील गाउँपालिकामा स्तरोन्नति गर्ने बताए । अध्यक्ष सारुले आगामी आर्थिक वर्षमा नागरिकलाई आत्मनिर्भर बनाउन कृषि तथा पशुका क्षेत्रमा उत्पादनमुखी , व्यवसायमुखी र स्वरोजगारमुखी कार्यक्रमहरु गरिने बताए ।
नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिने उल्लेख रहेको छ । खानेपानी योजना , विपद् तथा प्रकोप नियन्त्रण एवं व्यवस्थापन गरिने छ । कार्यक्रममा मगर भाषा , साहित्य , कला , संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिने उल्लेख रहेको छ । गरिवी निवारण , पूर्ण सरसफाइ तथा लैंगिक तथा समावेशी विकासका लागि सामाजिक परिचालन कार्यक्रम सञ्चालन गरिने छ । नीति तथा कार्यक्रममा महिला बालबालिका तथा पिछडिएको क्षेत्रका समुदायलाई प्रत्यक्ष लाभ पुराउने भनिएको छ ।
पालिकाले ६० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने ,साथै ग वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिने उल्लेख छ । निस्दीको स्थानीय स्रोत साधन र सीपको उच्चतम प्रयोग गरी रोजगारी सिर्जना गरिने , साथै दीगो विकास , वातावरणीय संरक्षण तथा सम्बर्द्धन गर्न सघाउ पुर्याउने कार्यक्रम सञ्चालन गरिने अध्यक्ष सारुले बताए । संस्थागत विकास तथा सुशासनका कार्यक्रम प्राथमिकताका साथ गरिने उल्लेख रहेको छ ।
सभामा उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० का लागि वार्षिक विनियोजन विद्ययक पेस गरिन । उपाध्यक्ष श्रेष्ठले संघीय तथा प्रदेश सरकारको अनुदान , गाउँपालिकाको आन्तरिक आम्दानी र संचित कोष गरि कुल ६४ करोड ९८ लाख , ६ हजार ५ सय ७० रुपैयाँ बजेट विनियोजन गरेको बताइन् । सभामा विधेयक समितिका संयोजक दुर्गा बहादुर सोमैले पेस गर्नुभएको आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक २०७९ पारित गरेको छ ।
सभा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षता ,प्रवक्ता मेख बहादुर सुनारीको स्वागत र प्रमुख प्रशासकीय अधिकृत राजु नेपालको सञ्चालनमा भएको हो ।