तानसेनको घरघरमा स्वास्थ्य सेवा

 

रीमा सोमै
तानसेन नगरपालिकाले जनताको स्वास्थ्य परीक्षण गर्न घरघरमा स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य सेवा दिएको छ । जेष्ठनागरिक , गर्भवती तथा सुत्केरी महिला र फरक क्षमता भएका व्यक्तिहरुको नियमित स्वास्थ्य परीक्षण गर्न नगरपालिकाले घरघरमा स्वास्थ्यकर्मी पठाएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले नगरका जेष्ठनागरिक तथा गर्भवती, सुत्केरी र फरक क्षमता भएका नागरिकको नियमित स्वास्थ्य परीक्षण गरिएको बताए । उनले ‘जनताको स्वास्थ्य सेवा सर्वसुलभ गर्ने कार्यमा नगर सरकारले योजना कार्यान्वयन गर्न लागेको बताए । उनले अभियान कार्यान्वयनका लागि स्वास्थ्य सेवा निर्देशिका समेत कार्यपालिकाबाट पारित गरि काम सुरु गरेको बताए ।

नगरपालिकाले प्रत्येक १५ दिनमा वडा–वडामा गएर निशुल्क औषधी समेत दिने कार्य योजनालाई कार्यान्वयन गरेको छ । अभियानका क्रममा अनुभवी बिशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिने गरिएको छ । अभियानको बिशेषज्ञ अभियानमा दुई डाक्टर सहित पाँच जनाको सहभागिता रहने तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेको भनाई छ । नगर भित्र सुत्केरीको संख्या १ हजार २ सय ६८, जेष्ठ नागरिक ३ हजार ८ सय ३० र फरक क्षमता भएकाहरुको संख्या ५ सय ३० रहेको छ ।

घर नजिकै स्वास्थ्यकर्मीहरु आफै आएर शरिरको चेकजाँच गरिदिँदा तानसेन नगरपालिका वडा नं. ८ मदनपोखराका गोपिनाथ खनालले खुसी व्यक्त गरे । तानसेन नगरपालिकाको घरघरमा स्वास्थ्य सेवा कार्यक्रम अन्तरगत स्वास्थ्यकर्मीहरुको टोलीले वडा नं. ८ को कार्यालयमा राखेको शिविरमा ८६ बर्षिय खनाल जस्तै ७२ जना वृद्धवृद्धाहरुले चेकजाँच गराएका थिए । खनालले वृद्ध भएपछी अस्पताल जान गाह्रो हुने भएकाले घरनजिकै शिविर राखिदिँदा नगरपालिका वृद्धहरुको स्वास्थ्यमा जिम्मेवार भएको महसुस गरेको बताए ।

खनालले कान कम सुन्ने र दमको समस्या भएको बताउँदै त्यसको निशुल्क औषधी समेत दिँदा खुसी लागेको बताउँदै गाउँमा जनप्रतिनिधी भएको अनुभुती गरेको बताए । मदनपोखरा स्वास्थ्य चौकीका प्रमुख झविन्द्र न्यौपानेले नियमित औषधी खानेहरुलाई एक महिनाको औषधी वितरण गरेको बताए । न्यौपानेले अधिकांश वृद्धवृद्धाहरुलाई सुगरको समस्या देखिएको भन्दै सुगर हुँदा अपनाउनुपर्ने सावधानी बारे आवश्यक सल्लाह र सुझाव समेत दिएको जानकारी दिए ।

तानसेन नगरपालिकाले ६० बर्ष माथीका जेष्ठ नागरिका लागि नगरका विभिन्न स्थानमा स्वास्थ्य शिविर राखेर सेवा दिईरहेको स्वास्थ्य संयोजक झविन्द्र न्यौपानेले जानकारी दिए ।

सम्बन्धित खवर