सडक डिभिजनको झारा टार्ने पत्र

पाल्पा । जिल्ला प्रशासन कार्यालयलाई सडक डिभिजन पाल्पाले झारा टार्ने पत्र पठाएको छ । उसले जिल्ला समन्वय समिति र जिल्ला प्रहरीलाई समेत बोधार्थ दिएर पत्र पठाएको हो । उक्त पत्र पठाएपनि यसअघि जेठमै जिल्लास्थित सरोकारवाला निकायका बीच भएको बैठकको निर्णय भने कार्यान्वयन अझै भएको छैन ।

सडक डिभिजनले सिद्धार्थ राजमार्गमा टिपर सञ्चालन गर्न रोक लगाउन सहजिकरणका लागि आग्रह गरेको छ । सडक डिभिजन कार्यालय पाल्पाले सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाउन सहजिकरण गर्न माग आग्रह गरेको हो ।

सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षात्को समयमा ठूला मालवाहक सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा अत्याधिक भारबहन भएका टिपर सञ्चालनलमा रोक लगाइएको सूचनामा उल्लेख छ । सडकमा अत्याधिक भारवहन भएका टिपरहरु सञ्चानलमा रोक लगाउन सहजीकरणका लागि स्थानीय प्रशासन र प्रहरी कार्यालयललाई समेत सडक डिभिजन पाल्पाले अनुरोध गरेको कार्यालय प्रमुख रामेश्वर लम्सालद्वारा जारी सूचनामा भनिएको छ ।

तर सिद्धार्थ राजमार्गमा मात्र होइन जतासुकै टिपर, ट्याक्टर संचालनमा कुनै रोक लगाइएको छैन । चुनढुंगा बोक्ने टिपरहरु झन् बढी चुलुवा, धेरै भार बनाएर बोकेका छन् । टिपर चालकले तीव्र गतिमा कुनै कमी गरेका छैनन् । सिद्धार्थ राजमार्ग बिगार्ने टिपर नै हुन् । टिपरका कारण मर्मत गरेको सडक टिकाउ भएको छैन । सडकमा जथाभावी संचालन भएका टिपरका कारण खाल्डाखुल्डी बढेको छ ।

पानी पर्दापर्दै र पानी परेपछि पनि टिपरले तीव्रगतिमा चलाउँदा भार बोकेकाहरुका कारण सडक बिग्रेको छ । तर सडक डिभिजन भने उम्किने प्रयास गरेको देखिएको छ । सरोकारवालासँग कुनै छलफल गरेको छैन । खानी तथा भूःगर्भ विभागले पनि २ सय ७० दिनका लागि मात्र खानी संचालनको अनुमति दिन्छ । तर पनि खानी संचालकले अटेरी गर्दै पानी परिरहेका बेला वर्षाको याममा समेत चलाउने गरेको छ । यसमा सरोकारवाला निकाय भने मौन बस्ने गरेका छन् । सम्बन्धित पालिकाले कुनै चासो दिएका छैनन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय