
पाल्पा,नेकपा एमाले जिल्ला कमिटी पाल्पाको निर्वाचन केन्द्रित बैठक सकिएको छ । बैठकले निर्वाचान केन्द्रित भएर लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
एमाले जिल्ला पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेले बैठकमा प्रस्ताव पेस गरे भने दश स्थानीय तहका पार्टी कमिटीका अध्यक्षहरूले स्थानीय तहमा भएका पार्टी गतिविधि र अवस्थाबारे रिपोर्टिङ गरेका थिए । उनीहरूले यसअघि जितेको पालिका तथा वडामा अत्यधिक मत ल्याउने र पराजित भएका वडा तथा पालिकामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबीको बलियो आधार बैठकमा पेश गरेका छन् ।
बैठकमा प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज दलबहादुर रानाले शान्तिपूर्ण संघर्षको अन्तिम रुप निर्वाचन भएकाले तन, मन लगाएर चुनावी प्रचारप्रसारमा लाग्न निर्देशन दिए । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन एमालेको जित
पोलिटब्यूरो सदस्य तथा पाल्पाका इन्चार्ज ठाकुर गैरेले टोलटोल र घरघरमा पुगेर एमालेको सरकारले गरेका कामका बारेमा जनतालाई प्रस्ट पार्नुपर्ने अवस्था रहेको बताए । उनले जनता र मुलुकको विकासलाई पहिलो प्राथमिकतामा दिएर काम गर्ने पार्टी एमाले भएको बताए । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई अर्जुनदृष्टि बनाई जनताको घरघरमा पुगेर भावी योजनाबारे जानकारी गराउँदै एमालेका उमेद्वारलाई मत दिनको लागि अपिल गर्न सुझाव दिए ।
पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले एमाले यो मुलुुकको सशक्त पार्टी भएकाले यसमा गोलवद्ध भएर मुलुकलाई बचाउँन आग्रह गरे । बैठकमा केन्द्रीय सल्लाहकार सदस्य झपेन्द्र जिसीले समसामयिक प्रस्ताव पेस गरेका थिए ।
बैठकले चैत २६ र २७ गते वडा बैठक र २९ र ३० गते पालीकास्तरको बैठक बसेर पार्टीका तर्फबाट उमेद्वार सिफारिस गर्न निर्देशन दिएको कार्यालय सचिव दीपक विश्वकर्माले बताए ।
पार्टीका केन्द्र, प्रदेश, जिल्ला कमिटीका सदस्य र पालीका अध्यक्षहरूको सहभागिता रहेको बैठक पार्टी जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षता,उपाध्यक्ष देवीलाल लामिछानेले स्वागत तथा सचिव रामजी पोखरेलको सञ्चालन बसेको हो ।