
करुवान्यूज (पाल्पा ) राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाको उपस्थितिमा तानसेन नगरपालिका र लुम्बिनी गार्डेन फाउण्डेसन, स्पेनबीच समझदारीपत्रमा बिहिबार हस्ताक्षर भएको छ । तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाही र स्पेनको कासेरस सहरस्थित लुम्बिनी गार्डेन फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीबीच समझदारी पत्रमा हस्ताक्षर भएको तानसेन नगरपालिकाले जनाएको छ ।
पाल्पाको तानसेन नगरपालिका र स्पेनको कासेरस शहरबीच चालिआएको संस्कृति तथा परम्परा आदानप्रदान गर्ने सहमति पत्रमा रहेको छ । यसैगरी दुई पालिकाबचि कृषि, प्रविधि, स्वास्थ्य र परम्परागत ज्ञान आदानप्रदान गर्ने समझदारीपत्रमाा रहेको नगरप्रमुख शाहीले जानकारी दिए ।
यसैगरी तानसेन र स्पेनको कासेरस शहरले एक अर्काको पर्यटन प्रवद्र्धन गर्ने, स्पेनको कासेरस सहरलाई अन्तर्राष्ट्रिय रुपमा मानव शान्ति र सम्पदाको शहरको रुपमा प्रवद्र्धन गर्ने कार्यक्रम रहेको फाउण्डेसनका उपाध्यक्ष सुवेदीले जानकारी दिए । त्यस्तै बुद्ध धर्मका मुख्य सिद्धान्त शान्ति, मैत्री, अहिंसा, दया र करुणाको प्रवद्र्धन गर्ने, असमानता र द्वन्द्वलाई निरुत्साहित गर्ने समझदारीमा रहेको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए ।
मझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले पाल्पाको तानसेन र स्पेनको कासेरस बीच भएको समझदारीले आर्थिक विकास, मानवीय विकाससंगै अन्तर्राष्ट्रिय मानचित्रमा नेपाललाई चिनाउन सहयोग पुग्ने बताए । नेपालको सर्वोच्च शिखर सगरमाथा र बुद्ध जन्मस्थल लुम्बिनीलाई संसारभर चिनाउन जरुरी रहेको बताउँदै नेपालमा आउने पर्यटकका लागि भैरहवा विमानस्थल नजिक बन्ने बुद्धको मुर्तिले अझ बढी सन्देश लैजाने बताए । उनले तानसेन र भैरहवा दुरीका हिसाबले नजिक भएकाले पनि बुद्ध सर्किटसँग जोड्न सहज हुने बताए ।
राष्ट्रिय सभाका सदस्य राजेन्द्र लक्ष्मी गैरेले पर्यटकीय शहर तानसेन र युरोप बीचको समझदारीले पर्यटक भित्रयाउन सहायोग पुग्ने बताउँदै जनताको जीवनस्तर परिवर्तनमा समेत काम गर्ने सुन्दा अझ बढी खुसी लागेको बताइन् । उनले बुद्धको सन्देश फैलाउनका साथै तानसेनसंगको स्पेनको फाउण्डेसनको साझेदारीले पक्कै पनि पर्यटकीय क्षेत्रमा फाइदा पुग्ने बताइन् ।
प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले नेपालको धेरै गाउँ र नगरपालिकामा काम गर्दै आएको संस्थाले अब तानसेनसँग पनि सम्बन्ध गाँसिएको बताउँदै बुद्धको जन्मस्थल, अन्तराष्ट्रिय विमानस्थलमा राखिने बुद्धकोमूर्तिका साथै त्यससंग सम्बन्धित भएर तानसेन नगरपालिका पनि वुद्ध सर्किटमै जोडिएको बताए ।
कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले जनताको जीवनस्तर उकास्न पर्यटन पनि महत्वपूर्ण क्षेत्र रहेको बताउँदै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनका क्षेत्रमासमेत सहयोग पुग्ने बताए । तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी पाठकले युरोपको नगरपालिकासंग भएको यस समझदारीले तानसेनको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताइन् । नगरपालिकाका सूचना अधिकारी दुर्गा थापाले तानसेनलाई वुद्ध सर्किटसंग जोड्नका लागि यो समझदारी महत्वपूर्ण हुने बताए ।