
बगनासकाली गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा कृषिलाई प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रम र बजेटमा पनि कृषिमा बढी बजेट विनियोजन गरेको छ । निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक र प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गरी जीवनस्तरमा क्रमिक सुधार ल्याउने योजना बनाएको छ । उर्वर कृषि भूमिलाई गैर कृषि कार्यको लागि प्रयोगमा ल्याउने कार्यलाई निरुत्साहित गर्ने योजना अघि बढाएको छ । खेतीयोग्य बाँझो जग्गाको अभिलेखिकरणलाई व्यवस्थित गरी उपयोग गर्ने भएको छ । बढी उत्पादन हुने बढी मुल्य जाने बालीको पहिचान गरी बाली बिशेष उत्पादन पकेट क्षेत्र निर्माण गर्नेछ । नीति तथा कार्यक्रममा पनि कृषि उपज संकलन केन्द्रको संचालन प्रशोधन, संचय र ढुवानी गर्ने कार्यलाई कृषि सहकारी मार्फत संचालन हुने गरी विशेष अनुदानको ब्यवस्था गर्नेछ । युवा लक्षित कृषि कार्यक्रम संचालन गरी युवालाई कृषिमा आकर्षक हुने खालको कार्यक्रम ल्याउने छ ।
हुन त पाल्पा कृषि प्रधान छ । ८० प्रतिशतभन्दा बढी जनता कृषिमा नै निर्भर छन् । यद्यपि, कृषिबाट अधिकांशको जिविकोपार्जन हुन सकेको छैन । आयातित खाद्यान्नबाट नै यहाँका पनि जनताले पेट भरिरहेका छन् । संसार सूचना र प्रविधिको युगमा अघि बढिरहँदा पहाडी जिल्ला भएर पनि होला कृषिमा न त प्रविधि नै भित्रिन सकेको छ न त व्यवसायिकता नै । जबसम्म कृषिमा व्यवसायिकता ल्याउन सकिँदैन, तबसम्म यस क्षेत्रको विकास हुन सक्दैन । त्यसैले स्थानीय स्तरमा निम्न आयश्रोत भएका महिला, दलित, एकल महिला, सिमान्तकृत वर्ग तथा विपन्न वर्गलाई विउ, मल आदिमा अनुदानको कार्यक्रम बढाउनुपर्छ । तरकारी, फलफुल नर्सरी र नमुना फार्म स्थापनाका लागि अनुदान सहयोगको व्यवस्था मिलाउन जरुरी छ ।
स्थानीय तहका भौगोलिक बनावटलाई दृष्टिगत गरी वेमौषमी तरकारी खेती, रैथानेबाली संरक्षण र प्रबद्र्धनका लागि कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनपर्छ । कृषिमा व्यवसायिकता बढाउनपर्छ ।सोही अनुसार यान्त्रिकरण पनि गर्दै जानुपर्छ । यस्तो परिस्थितिमा कृषि इन्जिनियर, कृषि विज्ञ, कृषिका प्राविधक थप गर्दै जानुपर्छ । मेशिनरी प्रयोग बढाउने, मर्मत गर्ने वा फार्मका लागि विशेष अनुदान आवश्यक छ । अब कृषि इन्जिनियर, कृषि विज्ञ, कृषि प्राविधिकको दरबन्दी बढाउनेतर्फ ध्यान दिनु पर्ने हुन्छ । अहिलेकै पाराले कृषिमा अघि बढने हो भने कृषिको व्यवसायिक खेती हुन सक्दैन । कृषिलाई व्यवसायिक बनाउनका लागि पनि प्राविधिक बढाउने र किसानलाई उत्साह जगाउनेतर्फ ध्यान दिनुपर्छ ।