पर्यटन र पूर्वाधार तानसेनको जोड

पाल्पा, तानसेन नगरपालिकाले चालु आर्थिक वर्षमा पर्यटनका साथै पूर्वाधार विकासमा जोड दिएको छ । पर्यटन अन्तर्गत श्रीनगर क्षेत्रको बृहत्तर गुरुयोजनाको आधारमा विग बुद्ध पार्क निर्माणको विस्तृत परियोजना प्रतिवेदन बमोजिम निर्माण कार्य यसै आर्थिक बर्षदेखि प्रारम्भ गरिने भएको छ । पर्यटनको सम्भावना भएका ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक धरोहरहरुको पहिचान, संरक्षण र विकास, स्थानीय संस्कृतिको प्रवद्र्धन, पर्यटकीय क्षेत्रहरुको अध्ययन, गुरुयोजना सहित विस्तृत परियोजना प्रतिवेदन तयारी गर्ने कार्यक्रम छ । निर्माण र कार्यान्वयनमा निजी क्षेत्रलाई समेत आकर्षित गरिने नगरप्रमुख अशोककुमार शाहीले बताए ।

महामारीको अवस्थामा सबैभन्दा प्रभावित पर्यटन क्षेत्रलाई लयमा ल्याउन सुरक्षा मापदण्डलाई प्रभावकारी बनाई पोष्ट कोभिड पर्यटन विशेष कार्यक्रम सञ्चालन गरिने उनले बताए । प्रदेशकैगौरवको रुपमा रहेको तानसेन दरबार संग्राहलयको विकासको लागि नेपाल सरकार र प्रदेश सरकारसँग गरिएको सहकार्यलाई निरन्तरता दिइने भएको नगरप्रमुख शाहीले बताए ।१ अर्ब २८

करोडको वाँडफाँड कसरी ?

चालु आर्थिक वर्षका लागि १ अर्ब २८ करोड ७० लाख बराबरको बजेट तानसेन नगरपालिकाको रहेको छ । चालु आर्थिक वर्षको विनियोजन विधेयक २०७८ अनुसार १ अर्व २८ करोड ७० लाख २३ हजार ९ सय ७४ रूपैँयाको बजेट रहेको नगरउपप्रमुख लक्ष्मीदेवी पाठकले बताइन् । जसअन्तर्गत तानसेन नगरपालिकाको चालुतर्फ ५८ प्रतिशत र पूँजीगत तर्फ ४२ प्रतिशत खर्चको प्रस्ताव गरिएको नगरपालिकाका उपप्रमुख पाठकले जानकारी दिइन् । प्रस्तावित बजेटमा १४ करोड ७३ लाख घाटा बजेट छ । आन्तरिक स्रोतको अनुमान ६ करोड गरिएको छ । तानसेन नगरपालिकामा चालु तर्फ ७४ करोड ६४ लाख ७३ हजार ९०५ (५८ प्रतिशत) र पुँजीगत तर्फ ५४ करोड ५ लाख ५० हजार ६९ (४२ प्रतिशत) रहेकोछ । आय तर्फ नगरपालिकाको आन्तरिक राजश्व ६ करोड, संघ र प्रदेशबाट प्राप्त हुने राजश्व ३२ करोड ११ लाख ५१ हजार ७७०, अन्तर वित्तीय हस्तान्तरण तर्फ संघ र प्रदेश सरकारबाट सशर्त र निशर्त गरी ८६ करोड ६३ लाख ८६ हजार ९७४ रहेको छ । यसैगरी जनसहभागिता १ करोड, ६७ लाख रहेकोछ । व्यय भार मिलानको लागि रकम ८ करोड २७ लाख ८५ हजार २३० प्रस्ताव गरिएको उपप्रमुख पाठकले बताइन् । व्ययतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च १२ करोड ५० लाख, वित्तीय व्यवस्थाको लागि ५५ लाख, नगर गौरबको योजनाको लागि ४ करोड, समपुरक कोष मार्फत कार्यक्रम सञ्चालनको लागि २० करोड १५ लाख ७९ हजार ९७४, नगरस्तरीय कार्यक्रम (प्रवद्र्धनात्मक र पँुजीगत) तर्फ १९ करोड, विशेष कोष मार्फत हुने कार्यक्रमहरु ३ करोड १५ लाख, वडा स्तरीय कार्यक्रम ६ करोड, सशर्त कार्यक्रम ५९ करोड ३४ लाख ४४ हजार र अन्य कार्यक्रमगत खर्च ४ करोड रहेकोछ ।

प्रभास ताल व्यवस्थापन र सञ्चालन, टक्सार खुल्ला म्यूजिमय निर्माण, गुफाचौर गणेशधाम, माण्डव्य सरोवर, कोकलदेवी, चेचीकोट (रतनपाँडे समाधिस्थल), शैलोच्चगिरी, अर्गली कमलपोखरी लगायतका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा स्थानीय समुदाय, निजी क्षेत्र र सबै तहका सरकारहरुसँग समन्वय र साझेदारी गरेर अघि बढ्ने उनले बताए ।

नगरपालिका र निजी क्षेत्रको समन्वय र सहकार्यमा कृषि पर्यटन, पर्यापर्यटन, स्वास्थ्य पर्यटन, शैक्षिक पर्यटन, खेल तथा साहसिक पर्यटन लगायत पर्यटन विकासका गतिविधिलाई प्राथमिकताकासाथ अगाडि बढाइने बताइएको छ । स्थानीय गुठी र सरोकारवालाहरुसँग समन्वय गरी ऐतिहासिक अमरनारायण फूलबारीलाई व्यवस्थित बनाइनेछ । तानसेन–१४ मा रहेको ऐतिहासिक अर्गली दरबारको जग्गा व्यवस्थापनको लागि विशेष पहल गरिनेछ । प्रमुख तिर्थस्थल हृषिकेश मन्दिर क्षेत्रको जग्गा अधिग्रहण गर्न संघीय सरकारसँग समन्वय गरी रुरु क्षेत्र विकास गुरुयोजनाको आधारमा निर्माण÷पुनर्निनिर्माणको कार्य अगाडि बढाइने नगरप्रमुख शाहीले बताए ।

टोल विकास संस्थाहरु, निजी क्षेत्र र स्थानीय संघ संस्थाहरुको समन्वय र साझेदारीमा स्थानीय खुला स्थानहरुमा वाटर फाउन्टेन, झरना, बगैचा, नर्सरी, साना जातका बृक्षारोपण, तालतलैया र सिमसार क्षेत्रको संरक्षण व्यवस्थापन, स्थानीय पहिचान दिने कलाकृति निर्माण, प्रवद्र्धन, विश्राम स्थल निर्माण, सञ्चालन र व्यवस्थापन गरिनेछ । नगर क्षेत्रका मठ मन्दिर, मदरसा, गुम्वा, विहार, चैत्य, चर्च, मस्जिद संरक्षणको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।

विभिन्न जातजातिहरुसँग सम्बन्धित धर्म, संस्कृति, भाषा, भेषभुषा मान्नेहरुको भजन, चुटका, लाखेनाच, नेपाली बाजा, दाफाभजनलगायत प्रचलित साँस्कृतिक गतिविधि संरक्षणमा जोड दिइनेछ । विभिन्न धर्मावलम्वीहरुको अन्तिम संस्कारका लागि घाट÷दीप, कब्रस्थान, समाधिस्थललाई अन्तरपालिकास्तरमा सहकार्य गरी व्यवस्थित गरिनेछ । कोरोना संक्रमितहरुको निधन पश्चात् धर्म, संस्कृति अनुसार अन्तिम संस्कारको लागि आवश्यक सहयोग गरिनेछ ।

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारीता पुरस्कार कोष अभिबृद्धि गर्दै भवन निर्माणका लागि जग्गाको व्यवस्था मिलाइनेछ । जननायक वीपी कोइरालाको योगदानको कदरस्वरुप वीपी साहित्य स्मृति प्रतिष्ठान गठन गरिनेछ । साथै उपयुक्त स्थानमा वीपी स्मृति भवन निर्माणको लागि जग्गाको व्यवस्था मिलाइनेछ । राष्ट्रिय प्रतिभा तानसेनमा जन्मनुभएका कविवर माधव प्रसाद देवकोटाको सम्मान खातीर शालिक निर्माण कार्य थालनी गरिनेछ । तानसेन नगरपालिका भित्रको अपार पर्यटकीय सम्भावनाहरुलाई ध्यानमा राखी सीटी ब्राण्डीङ्गलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।

ऐतिहासिक महत्वका प्राचीन घरहरु पहिचान गरी संरक्षणका लागि प्रोत्साहन तथा अभिलेखिकरण कार्य थालनी गरिनेछ । एक वडा एक किलोमिटर पक्की सडक निर्माण अभियानलाई आगामी आर्थिक बर्ष पनि निरन्तरता दिइएकोछ । आवागमनमा सहजता र गुणस्तरीय पूर्वाधार विकासका लागि नगर क्षेत्रका महत्वपूर्ण सडकहरुको स्तरबृद्धि कार्य भइआएकोमा सम्पन्नताका लागि प्राथमिकता दिइएकोछ । तानसेन–५ वनदेवीमा वातावरणमैत्री बसपार्क निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएकोले नगर विकास कोषको ऋण सहयोगमा निर्माण आरम्भ गरिनेछ । नगरक्षेत्रमा पार्किङ्ग पूर्वाधार व्यवस्थापन प्रभावकारी बनाइने नगरप्रमुख शाहीले बताए ।

आफ्नै भवन नभएका र भवन जीर्ण भएका वडा कार्यालयहरुको भवन निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ । जनतालाई गुणस्तरीय सार्वजनिक सेवा प्रदान गर्न र पर्यटन प्रवद्र्धन गर्न हाइवे रिफ्रेस्मेण्ट सेन्टर, फोहरमैला व्यवस्थापन र रानीमहल सञ्चालन तथा व्यवस्थापन समेतका ३ वटा परियोजनाहरु सार्वजनिक निजी साझेदारी (सानिसा) मार्फत्कार्यान्वयन गर्न समझदारी पत्रमा हस्ताक्षर भईसकेकोले संझौता प्रक्रिया अगाडि बढाइनेछ । श्रीनगर सौन्दर्यीकरण पुनः प्रक्रियामा लगिएकोमा थप सम्भाव्य आयोजनाहरु समेत सानिसा मार्फत्अगाडि बढाइने नगरप्रमुख शाहीले बताए ।

आर्थिक तथा सामाजिक समृद्धिका लागि सिद्धार्थ लोकमार्ग अन्तर्गत बेलहियादेखि पोखरासम्मका पालिकाहरु समावेश भएको सिद्धार्थ आर्थिक कोरिडोर मार्फत् बहुपक्षीय साझेदारहरुसँग सहकार्य गरिनेछ । तानसेन नगरपालिकाको अगुवाइमा कालीगण्डकी नदी सीमामा पर्ने पाल्पा र स्याङ्गजाका स्थानीय तहहरुसँग जैवीक विविधता, पर्यापर्यटन लगायत साझा विकासका अवसर, सम्भावनाको खोजी र सहकार्यको लागि अन्तर साझेदारी गरिनेछ । नगरपालिका र नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको सहकार्यमा शहरी शासकीय पूर्वाधार आयोजना कार्यान्वयन गरिने उनले बताए । नगर क्षेत्रमा नागरिक सुविधाका लागि नियमितरुपमा नगर यातायात सेवा सञ्चालन गर्न सरोकारवाला निकायसँग समन्वय गरिनेछ । प्रदेश सरकारको सहयोगमा माडी क्षेत्र बृहत सिंचाइ आयोजना सञ्चालनको लागि विशेष पहल गरिएको उनले  बताए ।

नगरका महत्वपूर्ण स्थानहरुमा नवीकरणीय उर्जा कार्यक्रमबाट सोलार स्ट्रिट प्रणाली जडान गरिनेछ । नेपाल सरकार, प्रदेश सरकार र नगरपालिकाको सहलगानीमा विद्युतीय सवारी साधन सञ्चालन, सूचना प्रविधि पार्क, पर्यटकीय पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन, व्यवसायिक कृषि, रङ्गशाला निर्माण लगायतका सम्भाव्य आयोजनाहरु अगाडि बढाइनेछ । भूकम्पबाट क्षति भै लाभग्राहीको सूचीमा परेका निजी आवास पूर्णरुपमा सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाइने उनले बताए ।

सम्बन्धित खवर