
रम्भा गाउँपालिकाको बजेट शिक्षा र स्वास्थ्य लक्षित छ । चालु आर्थिक वर्षको बजेटमा रम्भाले स्वास्थ्य क्षेत्रका साथै शिक्षाका लागि बजेटलाई प्राथमिकता दिएको राम्रो हो । किन भने कोभिड १९ को दोस्रो लहर चलिरहेको छ भने पुनः तेस्रो लहरको संकेत पनि आइरहेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि झण्डै दुई÷दुई करोड बजेट शिक्षा र स्वास्थ्यका क्षेत्रमा विनियोजन गर्नु पनि राम्रै हो । नवौ गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रम, बजेट सार्वजनिक कार्यक्रममा बजेट प्राथमिकता शिक्षा र स्वास्थ्यमा नै थियो । शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रलाई यसपटक प्राथमिकतामा राखेर बजेट बनाउँदा जनताले राहतको महशुष गर्ने नै छन् ।
रम्भा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८।०७९ को बजेट नीति तथा कार्यक्रम मार्फत् ४६ करोड ८७ लाख बराबरको बजेट विनियोजन गरेको छ । कोरोना महामारीको बिचमा पनि गाउँपालिकाले योजनाहरू सञ्चालन गर्न सफल भयो । चालु आर्थिक वर्षको बजेटमा बेरोजगारी अवस्थामा रहेका युवालाई कृषि र पशुपालनमा आर्कषित गराउने रहेको छ । उनीहरुलाई आत्मनिर्भर र स्वावलम्बि बनाउने योजना अघि सारेको छ । व्यवसायिक किसानलाई ऋण तथा अनुदानको व्यवस्था, संस्थागत सुत्केरीलाई प्रोत्साहन, कोभिड नियन्त्रणलाई प्रभावकारी व्यवस्थापन तथा तयारी, प्राविधिक शिक्षाको विस्तार, सूचना प्रविधि र इन्टरनेटको पहुँच विस्तार, कम्प्यूटर शिक्षा, अंग्रेजी शिक्षालाई संचालन गर्ने नीति राम्रो छ । विगतका कार्यक्रमलाई निरन्तरता दिने भन्दा पनि नयाँ योजना ल्याउनुपर्ने सुझाव पनि नभएको होइन । जनताको आवश्यकता पूरा गर्नेतर्फ गाउँपालिकाको सोँच बन्नुपर्छ भन्ने पनि सुझाव छ । सडक सञ्जाल बाँकी रहेको स्थानमा सडकको पहुँच वृद्धि गर्नुपर्छ ।
अहिले भएका सडकको स्तरोन्नती गर्ने, सहकारीको माध्यमबाट रोजगारी र कृषि विकास, पर्यटन प्रर्वद्धनको लागि गुरुयोजना निर्माण पर्यटकीय क्षेत्रको पहिचान गर्ने नीतिलाई अघि सारेको छ । यसबाट पक्कै पनि नमुना रम्भा बन्न सहयोग पुग्ने छ । हुन त रम्भाले खानेपानी तथा सरसफाईको क्षेत्रमा एक घर एक धाराको नीतिलाई अवलम्बन गर्दै स्वच्छता खानेपानी व्यवस्थापन, सरसफाईको क्षेत्रमा काम गर्ने, उत्पादकत्व बढाउँन सिंचाईको व्यवस्था, काठका पोलहरुको विस्थापन गरी फालमको पोल राख्ने, पूर्वाधार विकासमा भवन निर्माणहरु लगायतको कामरु गर्ने योजना राम्रो रहेको छ । तोकिएका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गराउने दायित्व गाउँपालिकाको भएकाले चालु आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायत हरेक क्षेत्रले विगतमा भन्दा बढी सुधार पाउने अपेक्षा जनताको रहेको छ ।