
उद्यमशीलता तालिम लिएपछि युवाहरु पछिल्लो समयमा आत्मनिर्भर बन्दै गएका छन् । युवाहरु तरकारी खेती गर्ने, फूल खेतीमा रमाउने, बाँसका सामाग्रीका साथै सजावटका सामाग्री बनाउने, पशुपंक्षीपालनमा आकर्षित हुने गरेका छन् । दुधको विविधिकरणमा लाग्ने मात्र होइन, स्वरोजगार र अन्यलाईसमेत रोजगार दिन लागि परेका छन् । युवाहरु कोही तरकारी खेतीमा रमाएका छन् । कतिपय विदेश बसेर फर्केका युवाहरु यसरी उद्यमी बनेका छन् । कतिपय विदेशको भिषा छाडेर पनि उद्यमी बनेका छन् । कृषि तथा पशुपालन फर्म दर्ता गर्ने, बैंकसँग सहुलियत व्याजदरमा ऋण लिने र स्वःरोजगार बनेर रमाउने युवाहरुको संख्या बढेको छ । सँगै पढेका, खेलेका साथीहरु अहिले विदेश होलान् तर कतिपय युवा अहिले गाउँमै रमाएका छन् । विदेशमा गएर पसिना बगाउनुभन्दा यही काम गर्ने हो भने फाइदा छ भन्न बुुझ्न थालेका छन् ।
तानसेन नगरपालिका, संयुक्त राष्टसंघीय विकास कार्यक्रम, ग्रामीण आर्थिक विकास संघ रेडा, प्रधानमन्त्र िकृषि आधुनिकीकरण परियोजना तरकारी जोन लागयत सहयोगी संस्था युवाका लागि बैशाखी बनेका छन् । युवालाई टेको लगाउने माध्यम सरकारी, गैरसरकारी संस्था बनेका छन् । काम गर्न खोज्नेका लागि सहारा बनिदिएका छन् । जसले गर्दा युवाहरु उत्साहित भएर कृषि, पशुपालन लगायतका क्षेत्रमा लागि परेका छन् । काम गर्ने र अनुदान लिने भन्दा पनि व्यवसायिक बन्नेको संख्या बढेको छ । जे काम गरेपनि व्यवसायिक बन्ने योजना उनीहरुले बनाएका छन् । घरमै बसेर काम गरेपनि मासिक २० देखि २५ हजार कमाउन दुःख छैन । अझ मिहिनत गर्नेका लागि ४० देखि ५० हजार कमाई सामान्य नै भएको छ ।
युवा उद्यम विकास कार्यक्रममा सहभागी हुने र विभिन्न सीपमुलक, स्वरोजगारमूलक कार्यक्रम गर्नेहरुले समाजमा नाम र दाम दुबै कमाएका छन् । धेरै युवा अझै पनि विदेशमा चर्को घाममा दिन बिताएका छन् । रेमिट्यान्स पठाएका छन् । मुलुकको आर्थिक वृद्धि दर बढाउन सहयोगी बनेका छन् । तर पनि उनीहरुले कमाएको रकम के काममा खर्च भएको छ ? भन्ने प्रश्न भने उब्जिएको छ । स्वरोजगारमुलक उद्योग, अन्य काममा लगानी हुन सकेको छैन । त्यसैले मुलुकभित्र नै बसेर काम गर्ने युवा उद्यमीलाई साथ दिनु जरुरी छ । कमसेकम उनीहरुले यही स्वरोजगार बनेर केही न केही रोजगार सिर्जना गरेका छन् । त्यसैले त्यस्ता युवाका लागि सबैले उद्यम गर्ने वातावरण मिलाउन जरुरी छ । उनीहरुको काममा सबैले हातमा हात, साथमा साथ मिलाएर प्रोत्साहन गर्नुपर्छ ।