
पाल्पा । नेपाली काँग्रेस पाल्पाकाे पार्टि कार्यालय रहेकाे वीपी स्मृति भवन तथा पुस्तकालयको उद्घाटन भएकाे छ । भवन र पुस्तकालयको भर्चुअल माध्यमबाट भवनकाे पार्टि सभापति शेरबहादुर देउवा र पुस्तकालयकाे बरिष्ठ नेता रामचन्द्र पाैडेलले उद्घाटन गरेका हुन् ।
निर्माण सम्पन्न भई सञ्चालनमा अाएको तीन तले भवनको बारेमा पार्टी जिल्ला सभापति बीर बहादुर रानाले जानकारी दिए । जिल्ला सभापति रानाले सबैको साथ र सहयोगले आफ्नै भवन निर्माण गर्न सफल भएको बताए । आफ्नो भवन नहुँदा समस्या झेल्दै आएकोमा अहिले ३ तले भवन र ट्रस राखेर चार तल्ला बनाएर कार्यालय सञ्चालन, बैठक सञ्चालन, पुस्तकालय सञ्चालन हुँदै आएको उनले जानकारी दिए । २०५६ सालमा जग्गा खरिद गरेर २०६२ साउनमा भवनकाे शिलन्यास गरिएकाे थियाे । साविकका स्थानीय विकास मन्त्रालय, जिल्ला विकास समिति, नगरपालिका गाविस, सामुदायिक वन, व्यक्तिगत सहयाेगमा भवन निर्माण सम्पन्न भएकाे हाे । पछिल्लाे समयमा तानसेन नगरपालिकाले पुस्तकालयका लागि सहयाेग गरेकाे थियाे ।
वीपी स्मृति भवनको उद्घाटन गर्दै पार्टी सभापति शेर बहादुर देउवाले अासन्न महाधिवेशनलाइ सम्पन्न गर्न सबैकाे सहयाेग जरूरी रहेकाे बताए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वीपी पुस्तकालयको उद्घाटन पछि बोल्दै मुलुकलाई सहि मार्ग प्रदान गर्ने नेपाली कांग्रेसको जीवन संग महाधिवेशन जोडिएकाले, जस्तो सुकै संकटको सामना गरेर भए पनि महाधिवेशन हुनु आवश्यक रहेको बताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य हरि प्रसाद नेपालले झोला हुँदै भाडाको कार्यालय बाट आफ्नै कार्यालयमा स्थापना हुनु खुशीको कुरा भएको बताए ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व जिल्ला सभापति राजन प्रसाद पन्तले आफ्नै कार्यालय नहुँदा द्वन्दकालमा देखा परेका समस्याहरुको स्मरण गरे । नेपाली कांग्रेसका पूर्व सभापति ठाकुरचन्द्र विप्र, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव अजयमान कर्माचार्य, नेपाली कांग्रेसका महासमिति सदस्य रमण बहादुर थापा, महाधिवेशन प्रतिनिधि यमलाल तिमिल्सिना, नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति सन्तोष कुमार थापा, क्षेत्र नं. २ का सभापति राम बहादुर कार्की, क्षेत्र नं. २ क का सभापति कृष्ण प्रसाद बस्याल, नेपाल महिला संघका शान्ता बोहोरा, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई लगाएतले बोल्दै संगठन संगै वैचारिक र सैद्धान्तिक ढंग बाट पार्टीलाई बलियो बनाउन केन्द्र बाटै उपयुक्त मार्ग तय गर्नु पर्ने बताएका थिए । सभापति रानाको अध्यक्षतामा भएको कार्यक्रम नेपाली कांग्रेस पाल्पाका उपसभापति देवराज ढकालको स्वागतबाट सुरु र सचिव झपेन्द्र गहिरेको सञ्चालनमा भएको हो।