
काठमाडौं,
कतार सरकारले गत मार्च देखि श्रम सम्बन्धि नयाँ नियम लागु गरेको छ, । जसमा मासिक रुपमा (हप्तामा अधिक्तम ४८ घण्टा सम्म) काम गरेवापत कामदारले मासिक न्यूनतम एक हजार कतारी रियाल पारिश्रमिक पाउने व्यवस्था गरिएको छ । यो नियम कतारमा रहेर काम गर्ने घरेलु कामदार सहित सबैमा लागु हुन्छ । यस अघि कतारमा न्यूनतम पारिश्रमिक रकम ७५० कतारी रियाल रहेको थियो ।कामदारले पाउने न्यूनतम पारिश्रमिकलाइ ३ चरणमा बाँडिएको छ । रोजगारदाताले खाना र आवासको सुविधा दिए प्रति महिना एक हजार रियाल, आवासको सुविधा छ तर खाना छैनको सुविधा नभए एक हजार तीन सय रियाल, र खाना तथा आवास दुवैको सुविधा नभएमा एकहजार आठ सय रियाल कामदारले पाउँदछन ।
यो नियम ओभरटाइम काम गर्ने कामदारको हकमा पनि लागु हुन्छ । जसअनुसार रोजगारदाताले कामदारलाइ ओभरटाइम काम लगाएवापत प्रति घण्टाको दरले आधारभूत पारिश्रमिकमा कम्तिमा २५ प्रतिशत रकम थपेर भत्ता प्रदान गर्नु पर्दछ । रातीको सिफ्टमा (राती ९ बजे देखि बिहान ६ बजेसम्म) काम गर्नेहरुको लागि प्रति घण्टाको दरले आधारभूत पारिश्रमिकमा कम्तिमा ५० प्रतिशत थपेर भत्ता प्रदान गर्नु पर्ने व्यवस्था रहेको छ ।
कामदारले एउटै कम्पनीमा रहेर एक वर्ष वा सो भन्दा बढी काम गरिसकेको अवस्थामा सेवाको अन्त्यमा पाउने उपदान पनि कामदारले पाउँदछन जुन कम्पनीको नियम वा दुइ पक्ष बिचको समझदारीमा तय हुन्छ । वार्षिक रुपमा न्यूनतम ३ हप्ताको पारिश्रमिक बराबरको रकम उपदानको रुपमा कामदारले पाउनु पर्दछ ।
नियम लागु भएको मिति पछि यदि कामदारले नयाँ नियम अनुसार तलब सुविधा नदिएमा कामदारले रोजगारदातासंग कुराकानी गरेर समस्यालाइ समाधान गर्ने कोसिस गर्नु पर्दछ यदि त्यसो गर्दा पनि समस्याको समाधान भएन भने आवश्यक प्रमाणहरु जुटाएर कतार सरकारले जारी गरेकामाध्यमहरुबाट गुनासो दर्ता गराउन सक्दछन ।
यस बारे थप जानकारी आबश्यक भए कतार सरकारको वेवसाइट वा सेन्टर फर माइग्रेसन एण्ड इनटरनेशनल रिलेसन्स तथा नेपाली दूताबास, कतारमा सम्पर्क गर्न सकिने सेन्टर फर माइग्रेसन एण्ड इनटरनेशनल रिलेसन्सका प्रवन्ध निर्देशक युवराज नेपालले जानकारी दिए ।