निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्दै

पाल्पा । निषेधाज्ञालाई खुकुलो गरेसंगै कोरोना संक्रमण पनि बढ्दै गएको छ । केही दिनयता कोरोना संक्रमण बढेको हो । पछिल्ला तीन दिनको तथ्यांकमा मात्रै २ सय २७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले तीन दिनको तथ्यांकले फेरी कोरोना संक्रमण उकालो लागेको पुष्टि हुने बताए । तीन दिनमा क्रमश ७०, ११५ र ४२ जनामा संक्रमण पुष्टि भएको उनले बताए । निषेधाज्ञामा कडाइका साथै स्वास्थ्य सावधानी अपनाउँदा घटेको थियो ।

समुदायमा लक्षणसहितका बिरामीहरु बढेका छन् । पसलहरु खुलेका छन् भने मेलापालमा धेरै मानिसहरु घुलमिल हुँदा पनि संक्रमणको जोखिम बढेको हो । लक्षणसहितका बिरामीलाई परीक्षणको दायरा ल्याउने हो भने पुनः संक्रमण बढ्ने देखिएको छ । कोरोनाको दोस्रो लहर यता अर्थात बैशाखदेखि हालसम्म ७६ जना संक्रमितले ज्यान गुमाएका छन् ।

रिब्दीकोट गाउँपालिकाका ठिमुरे, ख्याहा लगायतका स्थानमा लिएको नमुना परीक्षणले पनि डरलाग्दो स्थिति देखिएको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए । उनका अनुसार गाउँमा अझ बढी संक्रमितको संख्या रहेको छ ।

जाँच गराउन आउन नमान्ने भएकाले पनि थप जटिलता थपिएको हो । उनीहरु घुलमिल हुने र स्वास्थ्य सुरक्षा नअपनाउँदा झन् संक्रमण बढेको हो । छुट्टै बस्न आग्रह गरेपनि नमान्नेहरुबाट थप समस्या निम्तिएको स्वास्थ्यकर्मी र स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ ।

सम्बन्धित खवर