उद्यमशीलता तालिमले आत्मनिर्भर युवा

पाल्पा । उद्यमशीलता तालिम लिएपछि युवाहरु आत्मनिर्भर बनेका छन् । तरकारी खेती, फूल खेती, बाँसका सामाग्री, दुधको विविधिकरण, पशुपंक्षी पालन लगायतका क्षेत्रमा युवाहरुको आकर्षण बढेको छ ।

तानसेन नगरपालिका–१, बराङदीका सरोज घिमिरेले युवा उद्यमशीलता तालिमपछि तरकारी खेतीमा रमाएको बताए । धनपति कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेका छन् । गाई, भैसी, बाख्राका साथै तरकारी खेती गर्ने मात्र होइन, बहुमूल्य फलफुलमा पनि उनको ध्यान पुगेको उनले बताए ।

उनका धेरै साथीहरु विदेश पुगीसकेका छन् । घरमै बसेर परिवारसंग रमाएर काम गर्न पाएकामा उनी खुसी छन् । उनका अभिभावक पनि काममा सहयोग गर्छन् । ६ लाख लगानी गरेका उनले अघिल्लो वर्ष १ लाख २० हजार आम्दानी गर्न सफल भएको सुनाए ।

तानसेन नगरपालिका–१३, बौघागुम्हाका दिनेश घिमिरे पनि युवा उद्यमी बनेका छन् । विदेश जाने अफर धेरै आएपनि घरमै बसेर केही गर्नुपर्छ भन्ने सोंच भएका उनले अहिले तरकारी खेती गर्छन् ।

सहुलियत व्याज दरमा ६ लाख रुपैयाँ ऋण लिएर काम गरेका उनले वार्षिक २ लाख रुपैयाँ मौसमी तथा बेमौसमी तरकारी खेती गरेर आम्दानी गर्ने गर्छन् । प्लाष्टिक टनेलहरु निर्माण गर्नुका साथै मल्चिङ पनि गरेर काम गरेका छन् ।

क्याप्सिकम , काक्रो, गोलभेडा, सिमी, बन्दा, काउली, करेला, भिन्डी पनि खेती गर्ने गरेको छु ।’ उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन कार्यक्रमबाट समेत सहयोग लिएका छन् ।

फुलको तालिम लिएकी तानसेन नगरपालिका–७, काजीपौवाकी चमेलीकुमारी श्रेष्ठ अहिले उद्यमी बनेकी छन् । व्यवसायिक बन्न चाहेर पनि हुन नसकेका बेला तानसेन नगरपालिकाको सहयोगमा संचालित तालिमले भने उनी अहिले सफल भएको बताइन् । अघिल्लो वर्ष उनले १ लाख बराबरको फुल बिक्री गरिन् ।

उनले ६० हजार नाफा कमाउन सफल भएको बताइन् । उनका अनुसार मेरीगोल्ड, मखमली, क्रिसमस फुलको बढी माग छ । बुटवल, पोखरा, काठमाडौबाटसमेत फुलको माग आउने गरेको उनले बताइन् । प्रदेश सरकारबाट दिएको तालिमसमेत पाएकी उनले अहिले नर्सरी राखेकी छन् । ग्रामीण आर्थिक विकास संघले उनलाई नर्सरीका लागि ट्रे, झारी, बीउँ, टनेलका लागि प्लाष्टिक, बजार व्यवस्थापन, कैची लगायतका सामाग्री सहयोग गरेको छ ।

नगरपालिकाले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग र ग्रामीण आर्थिक विकास संघ (रेडा) को समन्वयमा युवा उद्यमशीलता सम्बन्धी संचालन गरेको तालिमले तानसेन नगरपालिका–५, कैलाशनगरका विमल रुचाल पनि उद्यमी बनेका छन् । वैदेशिक रोजगारमा १४ वर्ष बिताए ।

दुई छोरा र एक छोरीका बाबु रुचाल अहिले घरमै बसेर बाँसका सामाग्री बनाउने गर्छन् । २०७७ चैत ११ पछि सरकारले गरेको लकडाउनपछि उनी उद्यमी बन्न कस्सिएका हुन् । दुबई, कुवेत, कतार, साउदी, मलेशिया लगायतका मुलुकमा काम गरेर फर्किएका उनलाई अहिले भने घरमै बसेर काम गर्ने इच्छा जाग्यो । निषेधाज्ञा भएपछि अघिल्लो वर्ष उनी श्रीमतीलाई ढाका व्यापारमा लगाए । आफू पनि केही गर्छु भन्दै गर्दा तानसेन नगरपालिकाले युवा स्वारोजगारका लागि तालिम खुलाएको थाहा पाए ।

फर्म भरेर तालिममा सहभागी हुने मौका पाए । ‘बाँसका सामाग्री बनाउने लगायत धेरै कामका लागि फर्म खुलेको थियो,’ उनले भने, ‘त्यसपछि मलाई बाँसको काम गर्ने इच्छा लाग्यो ।’ तीन महिनाको तालिमपछि श्रीनगर हस्तकला उद्योग खोलेर आफै स्वरोजगार बनेका छन् ।

उनले अहिले घरमा बसेर ५ देखि १० हजार सजिलै कमाएका छन् । उनले रेष्टुरेण्टको सजावट सामाग्रीका साथै बाँसका सामाग्री बनाउने गर्छन् । टेबुल, कुर्चि लगायत सजावटका सामाग्री घरमै बसीबसी बनाउने गरेको ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए । उनले ३ लाख रुपैयाँ सहुलियत दरको व्याजमा ऋण समेत लिएका छन् ।

तानसेन नगरपालिका–६, टुँडिखेल नजिकै पालुङ्गे डेरी पसलका जीत बहादुर पालुङ्गे मगर पनि अहिले स्वरोजगार बनेका छन् । उनी पनि निषेधाज्ञापछि बनेका उद्यमी हुन् । मलेशिया र साउदी अरबको अनुभव बटुलेका उनी डेरी उद्योग चलाउछन्।

‘६ वर्षजति विदेशमा बिताए,’ उनले भने, ‘अहिले आफैले डेरी पसल संचालन गर्दा सन्तुष्ट छु ।’ पालुङ्गे गोरस घर संचालन गरेका उनी पनि दुधको विविधिकरण तालिममा सहभागी भएपछि उद्यमी बनेका हुन् ।

युवा उद्यम विकास कार्यक्रममा सहभागी भएका उनले डेरी प्रवद्धनका साथै विविधिकरण तालिमपछि उद्यमी बनेको बताए । दुधका साथै चिज, आइसक्रिम, कुल्फी, छुर्पी, डेरीमा पाइने सबै सामाग्री तयार गर्ने र बिक्री गर्ने गर्छन् । अहिले उनको डेरीमा मासिक एक लाखको कारोबार हुन्छ ।

सहुलियत व्याजदरमा ५ लाख ऋण लिएका उनले ५० प्रतिशत अनुदानमा चिलिङ भ्याट पाएका छन् । तानसेन नगरपालिका र अन्य सहयोगी संस्थाले दिएको तालिम अहिले पूर्ण रुपमा सहयोगी बनेको उनको अनुभव छ ।

नगरप्रमुख अशोककुमार शाही युवाहरुलाई घरमै बसेर उद्यमशील बनाउने योजना अनुसार नै तालिम संचालन गरेको बताए । उनले सहयोगी संस्थाहरुको साथ पाएपछि काम गर्न अझ उत्साह थपिएको बताए । ‘सकेसम्म वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई यही केही सानाठूला उद्यम गराउन सकियो भने पक्कै पनि स्वरोजगार वृद्धि हुनेछ,’ उनले भने, ‘विदेशमा गएर गर्ने दुःख यही गरुन् भन्ने चाहना नगरपालिकाको छ ।’

उनका अनुसार नेपाल बैंक लिं.संग सहुलियत ब्याजदरमा ऋण प्रदान गर्नका लागि सम्झौता भएको छ । जसमा महिलाले ३ र पुरुषले ४ प्रतिशत व्याज बुझाए पुग्छ । यसरी उद्यम गरेका युवालाई नगरपालिकाले समयमा किस्ता तिर्ने हो भने व्याजमा पुरै मिनाहा गर्ने नीति समेत लिएको छ ।

सम्बन्धित खवर