स्वास्थ्यमा लगानी बढाऔं

कोभिड–१९ को महामारी अघिसम्म स्वास्थ्य क्षेत्र खासै प्राथमिकतामा परेको थिएन । किनभने यस क्षेत्रलाई लगानी गर्ने कुनै योजना नै बनाएका थिएनन् । सघीय, प्रदेश र स्थानीय सरकार सबैको ध्यान पहाड फोर्ने, डोजर लगाउने, ढुंगा, माटोमै ध्यान पुगेको थियो । स्वास्थ्यको क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने सोँच नै बनाएका थिएनन् । तर अहिले भने स्वास्थ्यको क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने मान्यता बढेको छ । तीन तहकै सरकार अहिले स्वास्थ्य क्षेत्रमा लगानी गर्नमा आतुर छन् । गाउँगाउँमा नामै नसुनेका स्वास्थ्यका सामाग्री पुगेका छन् । विशेषगरी अहिले स्थानीय तह अहिले स्वास्थ्यका क्षेत्रमा लगानी गर्नुपर्छ भन्नेमा पुगेका छन् । उदाहरणका रुपमा पाल्पाका केही स्थानीय तहलाई लिन सकिन्छ । पूर्वखोला, रिब्दीकोट, बगनासकाली, तानसेन लगायतका स्थानीय तहले अहिले स्वास्थ्यका क्षेत्रमा बजेट पनि राम्रै विनियोजन गरेका छन् ।

स्वास्थ्यको क्षेत्रमा अग्रसरता लिएर काम गरेकाले कोरोना रोकथाम, उपचार र व्यवस्थापनमा सहयोग पुगेको छ । स्थानीय सरकारले कार्ययोजना बनाएर काम गर्दै आएका छन् । अक्सिजन सुविधा सहितको कोभिड अस्पताल, आइसोलेशसन कक्ष, अक्सिजन सिलिण्डरको जोहो, कन्सन्ट्रेटर, अन्य स्वास्थ्य सामाग्री खरिदका योजना बनाएका छन् । रोग प्रतिरोधी शक्ति विकास गर्ने आयुर्वेदिक औषधीहरु खरिद गरेरसंक्रमित तथा कन्ट्रयाक्ट ट्रेसिङ्गमा परेका व्यक्तिहरुलाई वितरण गर्ने काम भएको छ । कोरोना संक्रमितलाई अस्पतालसम्म जानका लागी एम्बुलेन्स सेवा व्यवस्था गरेका छन् । जुनसुकै समयमा पनि निशुल्क एन्टिजेन परीक्षणको व्यवस्था मिलाउने गरेका छन् ।

संक्रमितको घरघरमा स्वास्थ्यकर्मी पुगी अक्सिजनको मात्रा नाप्ने, औषधीहरु प्रदान गर्ने र स्वास्थ्य सम्बन्धी सुझाव सल्लाह दिने काम गरेका छन् । स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रलाई बेडको व्यवस्थापन गर्ने, भवन निर्माणका लागि पहल गर्ने काम भएको छ । स्वास्थ्य सम्बन्धी स्टोर प्रणालीलाई पुर्णरुपमा अनलाइन बनाउने, स्वास्थ्य संस्थामा भएको औषधीको मौदाज्त र खर्चको हिसाब दुरुस्त गर्ने काम भएका छन । त्यसैले अहिले प्राथमितामा परेको स्वास्थ्य क्षेत्र महामारीकै कारण पनि हो । स्वास्थ्य क्षेत्रलाई लगानी गर्नुपर्छ भन्न मान्यताको विकास हुनु हरेक नागरिकका लागि खुशीकै कुरा भएकाले यसमा स्थानीय सरकार बधाईका पात्र बनेका छन् ।

सम्बन्धित खवर