
पाल्पा । निषेधाज्ञाका कारण सेवा बन्द गरेको मालपोत कार्यालयले सेवा सुरु गरेको छ । कोभिड १९ संक्रमण रोकथाम,उपचार तथा व्यवस्थापनका लागि भएको निषेधाज्ञा पछि कार्यालयको सेवा बन्द रहेको थियो ।
आर्थिक वर्षको अन्तिम समयमा हुनेगरेका बैक तथा वित्तिय संस्थाको जग्गा रोक्का तथा फुकुवा गर्ने कामका लागि आएको जनगुनासोको आधारमा प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको मौखिक आदेशमा सिमित र सामान्य सेवा सुरु भएको हो ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिले कार्यालयले सेवा दिन नमिल्ने आदेश गरेको भएपनि सेवाग्राहीको गुनासो सम्वोधन गर्न काम गरिएको कार्यालय प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिए ।
उनले प्रमुख जिल्ला अधिकारीको मौखिक आदेश अनुसार सेवा लिन आएका सेवाग्राहीलाई नर्फकाउने गरी काम भएको तर पूर्णतय सेवा सुरु नभएको बताए । कार्यालय प्रमुख खनालले अत्याआवश्यक काम लिएर आएका सेवाग्राहीको काम गरिएको तर सवै सेवा सुचारु गर्न जारी निषेधाज्ञाका आदेशले समस्या रहेको उनले बताए ।