पाल्पा । नेपाल एसविआई बैंक पाल्पा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाल्पा अस्पताल र दुई प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बेड सहयोग गरेको छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेय, स्वास्थ्य कार्यालय प्रमुख नारायण प्रसाद चौधरी र एसबिआई बैंक पाल्पा शाखा प्रबन्धक बसन्त गुरागाईले पाल्पा अस्पतालका साथै ताँहु र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रलाई बेड हस्तान्तरण गरे ।
कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसी, पाल्पा अस्पतालका डा.जगदीश कुंवर, ताँहु प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य अधिृत फिरोज श्रेष्ठलाई बेड हस्तान्तरण गरिएको हो । पाल्पा अस्पताललाई पाँच, खस्यौली र ताँहुलाई एक÷एक अस्पताल बेड सहयोग प्रदान गरेको एसबिआइका पाल्पा शाखा प्रबन्धक गुरागाईले जानकारी दिए ।
रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जीसीले कोभिड १९ को दोस्रो लहर अझै नसकिएको र तेस्रो लहरको हल्ला भइरहेकाले यसले आगामी दिनमा ठूलो सहयोग पुग्ने बताए ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले बेड नपाएर समस्या भएका बेलामा सुविधासम्पन्न बेड पाउँदा अस्पतालका लागि यसले राहत पुग्ने बताए । पाल्पा अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रले यसरी बेड सहयोग पाउनु राम्रो पक्ष भएपनि यसको सही सदुपयोग गर्नुपर्ने स्वास्थ्य कार्यालय प्रमुख नारायण प्रसाद चौधरीले बताए ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले झण्डै १५ वटा बैंक रहेको पाल्पामा अन्यलाई पनि यसले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको बताए । कोभिडका बेलामा सबैको सहयोगबाटै रोकथाम र उपचारमा सहयोग पुगेको उनले बताए ।