रामपुर र निस्दीमा संक्रमण बढ्दो

पाल्पा । जिल्लाको रामपुर नगरपालिका र निस्दी गाउँपालिकामा केही दिनयता पुनः कोरोना भाइरस संक्रमण बढेको छ । एक साता कमी हुँदै गएको कोरोना भाइरस संक्रमण पुनः बढेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी पन्थीले जानकारी दिए ।

खेतमा रोपाइँ सुरु भएको छ भने ग्रामीण बजार क्षेत्रमा चहलपहल बढेकाले पनि कोरोना संक्रमण बढेको हुन सक्ने स्थानीय जनप्रतिनिधिले बताए । ‘अधिकांश स्थानीय तहमा जाँच नै भएको छैन,’ उनले भने, ‘जाँच गर्ने हो भने जतासुकै देखिनेमा कुनै दुई मत छैन ।’ उनका अनुसार निस्दीले जाँच गरेकाले नै धेरै पुष्टि भएको हो ।

निस्दीमा मात्रै पछिल्लो समयमा धेरै जनामा पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । निस्दीका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा मगरका अनुसार सर्वसाधारणको लापरवाहीकै कारण निस्दीको समुदायमा कोरोना संक्रमण बढेको हो ।

‘हामीले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालाई सचेतना जगाउन, घरबाट बाहिर ननिस्कन र धेरैसंग घुलमेल नहुन आग्रह गरेकै छौं,’ उनले भने, ‘तर पनि भनेको नमान्दा समस्या पुनः देखिएको छ ।’

ज्यामिरेका वडाध्यक्ष गगनसिंह सोतीका अनुसार ज्यामिरे, हुवास, चारघरे, पोखरीछाप लगायतका टोलमा बढी संक्रमित छन् । ‘अहिले वडा नै सिल गर्नु परेको छ,’ उनले भने, ‘यसले गर्दा वर्षा याममा खेतीबाली लगाउने समय छ तर पनि बाध्यताले सिल गर्नु परेको छ ।’ आरटिपिसिआर मेशिन नचलेको झण्डै दुई साता भइसक्यो । परीक्षण किट अभावले आरटिपिसिआर भएको छैन । अहिले सबै स्थानीय तहमा एन्टिजेन परीक्षण भइरहेको छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार अहिलेसम्म स्थानीय तह, अस्पतालहरुमा गरी ५ हजार ९ सय ३९ जनाको एन्टिजेन परीक्षण गरिएको छ । जसमा १ हजार ९ सय ४ जना पोजेटिभ पुष्टि भएको छ । निस्दीमा ९ सय ८४ जनामा एन्टिजेन गर्दा ३ सय ४७ जनामा पोजेटिभ पुष्टि भएको छ ।

रामपुरमा ८ सय ९ जनाको परीक्षण भएको छ । जिल्लामा संघीय र प्रदेश सरकारले १२ हजार ९ सय एन्टिजेन पठाएको छ । तर अहिलेसम्म जिल्लाभर ५ हजार ९ सय मात्र परीक्षण भएको छ । केही स्थानीय तह आफै खरिद गरेर पनि परीक्षण गरेको उनले बताए । पाल्पामा १ सय ६ जना संक्रमितको मृत्यु भइसकेको छ ।

सक्रिय संक्रमितको संख्या ४ सय १६ छ । आइतबार जिल्लामा ३ सय ८० जना होम आइसोलेसनमा रहेका छन् । २० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पन्थीले जानकारी दिए ।

सम्बन्धित खवर