खोप लगाउन नपाउँदा काममा फर्किन पाएनन्

पाल्पा । खाडी मुलुकले खोप लगाएका कामदार मात्रै लैजाने भनेपछि विदेश काममा फर्कने श्रमिकलाई मर्का परेको छ । सरकारले खोप ल्याउन सकेको छैन भने आएको खोप पनि वैदेशिक रोजगारीमा जानेलाई लगाउन नपाएपछि विदेशमा काम गर्नेहरु लामो समयदेखि फर्किन पाएका छैनन् ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु हुनुअघि घर आएका धेरै कामदार अहिले खोपको खोजीमा भौतारिएका छन् । ‘घरमा आएको धेरै भयो निषेधाज्ञाले गर्दा जहाज चलेन अहिले फर्किन समस्या भयो,’ रामपुर नगरपालिका–३, केलादीका खगेश्वर बोटेले भने, ‘म लगायत हजारौं कामदार पीडामा छौं ।

दुबईबाट विदामा आयौं । निषेधाज्ञा र जहाज बन्द भए । अब जहाज खुलेको छ । हामी छुट्टीमा आएका मात्र होइन, भिजिट भिसामा जाने जो कोही जान पाइएको छैन ।’ दुबई सरकारले चार मध्ये एक भ्याक्सिन दुई डोज लगाएकालाई मात्रै प्रवेश गर्न भनेको छ ।

नेपालमा दुबईले तोकेका चारवटै भ्याक्सिन ल्याएको छैन । त्यो मात्र होइन कुनै पनि भ्याक्सिन लगाउन नपाएर समस्या परेको बोटेले बताए । उनका अनुसार युवाहरु बैदेशिक रोजगारमा जानेहरुले लगाउने नपाउने हो भने छुट्टीमा आएकालाई अब जहाज खुलेपनि फर्कन नसक्दा समस्या भएको छ । सरकारले यसमा गम्भिर हुनुपर्ने उनले बताए ।

त्यसपछि खोप लगाएका कामदारलाई मात्र खाडी मुलुक प्रवेश अनुमतिको नियम लागू भएको छ । खोप लगाउन नपाएकाले विदेश जान रोकिँदा धेरै युवा यतिबेला पिरोलिएका छन् ।

‘कतिपयले स्वास्थ्य कार्यालयसम्म पुगेर हारगुहार पनि गरे तर लगाउन पाएका छैनन्,’ बगनासकाली गाउँपालिका–१, चिर्तुङ्धाराका अशोक विकले भने, ‘जहाँ गएपनि हामीलाई सीमित खोप आएको छ । त्यसमा पनि फ्रन्टलाइनर र वृद्धवृद्धामात्रै सरकारको प्राथमिकता रहेका छन् भन्छन् ।’ पाल्पामा मात्रै सयौं युवाहरु भिसा हुँदाहुँदै उड्न नपाउने स्थितिमा रहेको उनले बताए ।

दुबईले गत वैशाख २३ देखि नेपालबाट कामदारसहितका यात्रुलाई प्रवेश निषेध गरेको छ । कोरोनाको पहिलो संक्रमणको लहर देखिएलगत्तै कुवेतले नेपालबाट कामदार आउन दिएको छैन । साउदी अरबले पनि एयरलाइन्स कम्पनीहरूलाई खोप नलगाएका यात्रुलाई नबोक्न निर्देशनात्मक आदेश जारी गरेको छ ।

साउदी प्रवेश गर्ने यात्रुले बोर्डिङ पास लिने बेला खोप लगाएको प्रमाणपत्र पेस गर्नपर्छ । आन्तरिक मन्त्रालय, साउदीको सूचनाअनुसार आउँदो साउन १७ देखि खोपको मात्रा पूरा भएका कामदार मात्रै कार्यक्षेत्रमा काम गर्न पाउनेछन् । बिनाखोप काम गरेको भेटिएमा जरिवाना, निलम्बनदेखि डिपोर्टसम्म गर्न सक्ने नीति ल्याइएको छ ।

यूएई र कुवेतले अनुमोदन गरेको खोप लगाएकालाई प्रवेशको अनुमति दिने नीति लिएको छ । कुवेतले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोन्सन एन्ड जोन्सनलाई अनुमोदन दिएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म र अक्सफोर्ड–अस्ट्राजेनेकालाई मात्रै मान्यता दिएको छ ।

यी सबै खोप नेपालमा अभाव रहेको कामदार रामपुर नगरपालिका–५, भम्बकका कुलबहादुर खत्रीले बताए । उनी दुबईबाट घर आएको ५ महिना भयो । तर भ्याक्सिन लगाउन नपाएर उनी काममा फर्किन नपाएको बताए । खोपको खोजीमा काठमाडौ, पोखरा, पाल्पाका धेरै स्थान दौडधुप गरे ।

तर उनले खोप लगाउन नपाएकै कारण विदेश जान नसकेको गुनासो गर्छन् । कम्पनीले खोप लगाएर आउन भनेको छ तर उनले जहा“सुकै धाउ“दा पनि खोप लगाउन पाएका छैनन् ।

जनप्रतिनिधिलाई पनि गुहारे तर उनले खोप लगाउन नपाएपछि ५ महिनादेखि घरमै छन् ।स्थानीय तहका स्वास्थ्य शाखामा पनि खोप लगाइदिन प¥यो भन्दै आउनेको संख्या बढ्दो छ । ‘विदेश जान समस्या भयो भन्दै आउनेका संख्या बढेको छ,’ बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले भने, ‘दैनिकजसो खोपको माग गर्दै आउने गर्छन् ।’

निस्दी, रामपुर नगरपालिका, तानसेन नगरपालिका, रिब्दीकोट, रैनादेवी छहरामा पनि खोप लगाउन माग गर्दै आउने गरेका छन् । ‘खोप लगाइदिए विदेश जान पाइन्थ्यो भन्ने धेरै छन्,’ पूर्वखोला गाउ“पालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले भने, ‘हामीसंग खोप पनि छैन अर्को कुरा लगाइदिन मिल्दैन ।’

स्वास्थ्य कार्यालयमा पनि दैनिक जसो खोप लगाउन माग गर्दै आउने गरेका छन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार खोपका लागि मन्त्रालयले निर्णय नगरेकाले लगाइदिन नसकिएको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय