तानसेनको बजेट १ अर्ब २८ करोड ७० लाख

पाल्पा । तानसेन नगरपालिकाको नवौं नगरसभा बिहिबारबाट सुरुभएको छ । सभामा तानसेन नगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को वार्षिक नीति,बजेट तथा कार्यक्रम नगरप्रमुख अशोककुमार शाहीले प्रस्तुत गरे ।

तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागी कुल १ अर्ब २८ करोड ७० लाख २३ हजार ९ सय ९४ रुपैयाँ बराबरको अनुमानित बजेट बनाएको छ । जसमा चालु तर्फ ७४ करोड ६४ लाख ७३ हजार ९ सय ५ रुपैयाँ र पुँजिगत तर्फ ५४ करोड ५ लाख ५० हजार ६९ रुपैयाँ रहेको छ ।

आय तर्फ नगरपालिकाको आन्तरिक राजश्वबाट ६ करोड, संघ र प्रदेशबाट प्राप्त हुने राजश्व ३२ करोड ११ लाख ५१ हजार ७ सय ७०, अन्तर बित्तीय हस्तान्त्रण तर्फ संघ र प्रदेश सरकारबाट सर्शत गरी ८६ करोड ६३ लाख ८६ हजार ९ सय ७४ रहेको छ । त्यस्तै जनसहभागीताबाट १ करोड ६७ लाख रहेको छ । त्यस्तै ब्यय भार मिलानको लागी ८ करोड २७ लाख ८५ हजार २ सय ३० प्रस्ताव गरिएको छ ।

ब्यय तर्फ कार्यालय संचालन तथा प्रशासनिक खर्च १२ करोड ५० लाख,बित्तीय ब्यबस्थाको लागी ५५ लाख, नगर गौरबको योजनाको लागी ४ करोड,समपुरक कोष मार्फत कार्याक्रम संचालनको लागी २० करोड १५ लाख ७९ हजार ९ सय ७४, नगरस्तरीय कार्यक्रम तर्फ १९ करोड,बिशेष कोष मार्फत हुने कार्यक्रमहरुका लागी ३ करोड १५ लाख,वार्ड स्तरीय कार्यक्रमका लागी ६ करोड, सशर्त कार्यक्रम ५९ करोड ३४ लाख ४४ हजार र अन्य कार्यक्रमगत खर्च ४ करोड रहेको छ ।

तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचारलाई प्राथमिकतामा राखेको जनाएको छ ।
नगरप्रमुख अशोककुमार शाहीले नवौं नगर सभामा प्रस्तुत गर्नुुभएको नीति तथा कार्यक्रममा कोभिड व्यवस्थापन तथा स्वास्थ्य सेवालाई प्राथमिकता दिनुका साथै आम समुदायलार्य पूर्ण खोपको प्रवन्ध गरिने उल्लेख गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिईने छ ।
यसका साथै शिक्षा तर्फ गुणस्तरीय,जीवनपयोगी,व्यवसायिक, प्रविधिमैत्री बनाउन आवश्यक व्यवस्थापन गर्ने, छोरी शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउने,शिक्षण सहयोग अनुदानलाई निरन्तरता दिने जनाएको छ । युवा स्वारोजगार कार्यक्रमका लागि विभिन्न दातृ संस्थासंगको समन्वयमा कार्यक्रम संचालन गर्ने,उद्यमी युवालाई करिव ५० लाख सम्म कर्जा उपलव्ध गराईने भएको छ ।

यसका साथै आगामी वर्षभित्र तानसेनलाई दुद्य,मासु र अण्डा र तरकारीमा आत्मनिर्भर बनाउने योजना अगाडि सारिएको छ । नगरपालिकाले आगामी वर्षका लागि आन्तरिक राजश्वमा दरहरु यथावत राखेको छ भने खेती योग्य जमिनमा घर निर्माण कार्यलाई निरुत्साहन गर्न राजश्व दर उच्च गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरपालिका पूर्ण सरसफाई नगर भएकोले बाकी एक सय ५० घरधुरीमा शौचालय निर्माण गरिने छ । यसका साथै स्वच्छ खानेपानीको व्यवस्थापन गरिने छ । एक वडा एक किलोमिटर सडक कालोपत्रे अभियान संचालन गरिने नगर उपप्रमुख लक्ष्मी पाठकले बताइन् । उनले बसर्पाक निर्माण,औधोगिक ग्राम निर्माण,श्रीनगर बिग बुद्ध परियोजना संचालनको लागि आबश्यक काम अघि बढाउनुका साथै अन्य संमझौता भएका परियोजनाहरुमा समेत देखिने गरि काम हुनेछ ।

यसका साथै नगरपालिकाले नगरवासीको हितलाई केन्द्रिमा राखेर केन्दीय सरकार,प्रदेश सरकार का साथै दातृ निकाय संग समन्वय र सहकार्य गर्ने नीति लिएको प्रवक्ता दामोदरप्रसाद घिमिरेले बताए । सभाले आर्थिक विधेयक २०७८ पास गरेको छ भने बिनियोजन बिधेयक,कर्मचारी सेवासुबिधा सम्वन्धी बिधेयक र तानसेन खानेपानी उपभोक्त समितीलाई तानसेन नगरपालिका मातहतमा ल्याउने विषेश प्रस्तावका विषयमा आगामी सभाको बैठकमा छलफल गर्ने गरि सभा सकिएको प्रेस सल्लाहकार गोविन्द भटराईले जानकारी दिए । सभाको अर्को बैठक असार १७ गते बस्ने छ । सभामा सभाका सदस्यहरु रामबहादुर रावल,रामप्रसाद बस्याल,सागरमान महजर्न,मायादेवी घिमिरे, विष्णुबहादुर कार्की ,प्रेम मल्ल,शशी श्रेष्ठ,गीता भटराई लगाएतले पेश भएको नीति तथा कार्यक्रम र प्रस्तावमा भनाई राखेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय