पर्यटकीय केन्द्र बन्दै अविरल पार्क

पाल्पा । तिनाउ गाउँपालिकाले दोभानमा निर्माण सुरु गरेको अविरल पार्क पर्यटकीय स्थल बनेको छ । द्वन्द्वकालमा मारिएका विद्यार्थी नेता १४ वर्षीय मानसिंह बस्नेत ‘अविरल’ को सम्झनामा निर्माण भइरहेको पार्क अब सञ्चालनमा आउने तयारीमा छ ।

तिनाउ गाउँपालिका–२ मा अवस्थित सातपत्रे सामुदायिक वनमा पार्क निर्माण भएको छ । गाउँपालिकाले पार्क निर्माणका लागि विं.सं.२०७४ मा पहिलो पटक ६ लाख बजेट छुट्टाएको थियो । ५० हजारबाट डिपिआर तयार गरिएको हो । वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठका अनुसार पार्क बनेपछि यस क्षेत्रको पर्यटकीय स्थल बन्नेछ ।

‘माओवादी द्वन्द्वकालमा विद्यार्थी नेता मानसिंह बस्नेतलाई नेपाली सेनाले पक्राउ गरे,’ उनले भने, ‘झोलामा प्रचार सामग्री पाएको अधारमा उनलाई माओबादी ठानेर उनलाई हालको तिनाउ गाउँपालिका र यसै पार्क रहेको स्थानमा ल्याई गोली हानी हत्या गरियो ।’

उनको हत्यापछि श्रेष्ठ लगाएत मनविर गर्वुजा र श्याम पाठकको रोहवरमा उनको शव गाडिएको थियो । निर्वाचित भएपछि श्रेष्ठ उनको सम्मान र सम्झनामा यस स्थानमा केही गर्ने योजना बनाए । पहिलो पटक ६ लाख बजेट छुट्टाएर काम गरेका हुन् । डिपिआरसँगै ट्रस र शौचालय निर्माण गरेका थिए ।

गाउँपालिकाको बजेटबाट पार्क निर्माण गर्दा सुरु–सुरुमा केही आलोचना भएतापनि पार्क निर्माणपछि देखिएको सहभागिता र आकर्षणले थप उत्साह बढेको छ । गाउँपालिकासँगै प्रदेश सरकारले पनि सहकार्य गरेको उनले बताए ।

‘सुरुआत गरेपछि २०७५ मा पनि गाउँपालिकाबाट ७ लाख बजेट छुट्टाइयो,’ उनले भने, ‘७६ मा १५ लाख त्यैसैगरी आर्थिक वर्ष ०७७/०७८ मा गाउँपालिकाबाट २५ लाख र लुम्बिनी प्रदेश सरकारबाट २५–२५ लाख बजेट प्राप्त भएको छ । पछिल्लो बजेटले निर्माणमा सहज र पार्कको स्वरुपमा परिर्वतनमा धेरै टेवा पुगेको वडाध्यक्ष श्रेष्ठले बताए ।

१ करोड १३ लाख लागत अनुसार डिपिआर तयार गरिएको छ । अहिलेसम्म ७८ लाख लगानी भइसकेको उनले बताए । हरियाली वनभित्र बनेको पार्कले जैविक पर्यटनमा टेवा पुग्ने उनको विश्वास छ । पार्कमा चिल्ड्रेन पार्क, ट्रस, सिढी र रेलिङ्ग, शौचालय, योगास्थल लगाएतका संरचनाहरु बनेको छ । योगाहल, सभाहल, चमेनागृह, खानेपानी टंकी लगाएत निर्माण तथा सजावट र व्यवस्थापन बाँकी रहेको उनले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय