स्मार्ट दम्पत्ती, असल छोराबुहारी र सेवानिवृत्त स्वयंसेविकालाई सम्मान

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाले दीर्घ स्वास्थ्य सेवा गरेका महिला स्वास्थ्य स्वयंसेविका, व्यवस्थित परिवार योजनाका लागि स्थायी परिवार नियोजन गर्ने स्मार्ट दम्पत्ती र वृद्धवृद्धा आमाबुबाको उचित स्याहार सुसार तथा पालनपोषण गर्ने असल छोराबुहारीलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै गाउँपालिकामा आयोजित कार्यक्रममा सम्मान गरेको छ । पाल्पामै पहिलो पटक रम्भा गाउँपालिकाले सम्मान कार्यक्रम राखेको हो ।

रम्भा गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेट स्वीकृत भए अनुसार रम्भा गाउँपालिकामा लामो समयसम्म सेवा गरेका ६० वर्ष उमेर पुगेका र दीर्घ रोगका कारण सेवा प्रदान गर्न नसक्ने भएका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई विदाई गरिएको स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले बताए ।

महिला स्वास्थ्य स्वयंसेविकाहरु हुँगीकी इन्द्रकला पछाई, फोक्सिङकोटकी ललीसरा गाहा, कृष्णा पाँडेमगर, गनीसरा पाँडे, गमीसरा सिँजाली, बलीसरा हिस्की, ताँहुकी केशरी ढेँगा, रिमीसरा सूर्यवंशी र विमीसरा रानालाई नगद २० हजार, दोसल्ला, सम्मानपत्र प्रदान गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, उपाध्यक्ष राधादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, वडाध्यक्षहरु थमनबहादुर थापा, भोजबहादुर विक, उमानसिंह सारु, हुँगी स्वास्थ्य चौकीका मेडिकल अधिकृत डा. पुजन श्रेष्ठ, लेखा अधिकृत पोष्टराज न्यौपाने, स्वास्थ्य शाखा प्रमुख शिव अर्याल, जनस्वास्थ्य निरीक्षक महेश आचार्य लगायतले सम्मान गरेका थिए ।

पाँचवटै वडाबाट वृद्धवृद्धा आमाबुबाको उचित स्याहार सुसार तथा पालनपोषण गर्ने असल छोराबुहारीहरु हुँगीबाट देवराज अर्याल र सुनिता अर्याल, फोक्सिङकोटबाट एवतकुमार सारु र हेमकुमारी सारु, पिपलडाँडाबाट गिरीराज भण्डारी र मुना भण्डारी, हुमीनबाट देमानसिंह घर्तिमगर र विष्णुकुमारी घर्तिमगर, ताँहुबाट लालबहादुर गाहा र खुमीसरा गाहालाई नगद १० हजार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

व्यवस्थित परिवार योजनाका लागि स्थायी परिवार नियोजन गर्ने स्मार्ट दम्पत्तीहरु हुँगीबाट तेजप्रसाद अर्याल र शान्ता अर्याल, फोक्सिङकोटबाट दीपक कार्की र शर्मिला कार्की, पिपलडाँडाबाट सुदीप खनाल र आकृति खनाल, हुमीनबाट तुलबहादुर सूर्यवंशी र टुलीसरा सूर्यवंशी, ताँहुबाट लालबहादुर बाह्घरे मगर र हेमीसरा बाह्घरेलाई नगद १० हजार, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहेका रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले लामो समयसम्म स्वास्थ्य स्वयंसेविका भएर काम गर्नेहरुलाई विदाई गर्दा हातको केही नहुनु भन्दा थोरै भए पनि सहयोग गर्ने नीति लिएको बताए । उनले रम्भालाई नमुना र स्मार्ट गाउँपालिका बनाउने तयारीका व्यवस्थित परिवार योजनाका लागि स्थायी परिवार नियोजन गर्ने स्मार्ट दम्पत्ती र वृद्धवृद्धा आमाबुबाको उचित स्याहार सुसार तथा पालनपोषण गर्ने असल छोराबुहारीलाई सम्मान कार्यक्रम राखेको बताए । गाउँपालिकाकी उपाध्यक्ष राधा देवी श्रेष्ठले रम्भा गाउँपालिकाले जिल्लामै पहिलो पटक यसरी कार्यक्रम राखेको र अरुलाई पनि सिकाई होस् भन्ने चाहेको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालले गाउँपालिकाले कार्यविधि बनाएर रचनात्मक काम गर्ने योजना अनुसार अब रम्भा गाउँपालिका नमुना र स्मार्ट गाउँपालिका बन्ने तयारी भएको समेत बताए । मेडिकल अधिकृत डा. पुजन श्रेष्ठले ३१ वर्ष लामो समय समुदायमा काम गर्ने स्वयंसेविकाको अतुलतीय योगदान रहेको बताउँदै व्यवस्थित परिवार योजना र असल दम्पत्ती सम्मानले अरुलाई पनि समाजमा योगदानको अवसर मिल्ने बताए ।

असल छोराबुहारीबाट पुरस्कृत भएका गिरीराज भण्डारीले आफूहरुले गर्ने काम गरिरहेको अवस्थामा यसरी सम्मानित हुन पाउँदा खुसी लागेको बताए । ३१ वर्ष सेवा गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरुले पनि आफूहरुका कारण कोही कसैको ज्यान नगएको र आगामी दिनमा पनि यस्तो अवस्था नआओस् भन्ने कामना गरेका थिए ।

उनीहरुलाई विगतमा दिएको सेवा प्रवाहलाई अबकाले निरन्तरता दिन सहज भएको समेत बताएका थिए । कार्यक्रम गाउँपालिका उपाध्यक्ष राधादेवी श्रेष्ठको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालको स्वागत, स्वास्थ्य शाखा प्रमुख शिव अर्यालको संचालनमा सम्पन्न भएको हो ।

सम्बन्धित खवर