
पाल्पा । रिब्दीकाेटले अागामी वर्षकाे बजेट ४८ कराेड ३९ लाख ९४ हजार सार्वजनिक गरेकाे छ । रिब्दीकाेट गाउँपालिकाकाे नवौं गाउँसभामा आर्थिक वर्ष २०७८।०७९ का लागि नीति कार्यक्रम र बजेट पेश भएको हाे ।
उसले सडक पुर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालन, खानेपानी, विधुत र शिक्षालाई प्राथमिकतामा राखेकाे छ । गाउँपालिकाको नवौं गाउँसभामा गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले नीति तथा कार्यक्रमलाई पूरा गर्न समयमै अनुमानित आय व्यय प्रस्तुत गरेकाे बताइन् । चालु आर्थिक वर्ष २०७७।०७८ को जेष्ठ मसान्तसम्ममा यस गाउँपालिकाको लागि संघीय सरकार र प्रदेश सरकारको समानिकरण अनुदान, शसर्त अनुदान, समपुरक अनुदान, राजश्व वाँडफाँडबाट प्राप्त हुने रकम, संघीय सरकारको विषेश अनुदान प्राप्त हुने छ ।
गाउँसभामा अध्यक्ष नारायण बहादुर जिसीले नीति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मी खनालले आगामी वर्षको लागि बजेट पेश गरेका हुन् । गाउँसभामा उत्कृष्ठ कर्मचारीलाई समेत सम्मान गरिएको अध्यक्ष जीसीले बताए । गाउँसभामा नीति कार्यक्रम र बजेटमाथी छलफल गरी सभाले पास गर्ने प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताउनुभयो । । सभाकाे उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य, टोल विकास संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागिता थियाे ।