पाल्पा । तिनाउ गाउँपालिकाले आगामी वर्षका लागि कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएकाे छ । गाउँपालिकाले अागामी वर्षका लागि ४७ करोड ७६ लाख बराबरको बजेट सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष अाेमबहादुर घर्तिले बताए ।
गाउँपालिकाको नवौं गाउँसभामा उपाध्यक्ष दमयन्ती थापाले नीति तथा कार्यक्रमलाई पूर्ण गर्नका लागि ४७ करोड ७६ लाख ९२ हजार ८ सय ६५ रुपैंया बराबरको अनुमानित आय व्यय प्रस्तुत गरिन । कोभिड नियन्त्रण, व्यवसायीक कृषि, पशुपालन, सडक पूर्वाधार विकास, विद्युत बिस्तार लगायतका क्षेत्रमा बजेट प्राथमिकतामा राखेको उनले बताइन्ता । उपाध्यक्ष थापाले पूँजीगततर्फ १८ करोड ८८ लाख ६० हजार ८ सय ६५ र चालुतर्फ २७ करोड ७७ लाख २२ हजार विनियोजन गरेकी छन् । सडक नपुगेका ठाउँमा सडक विस्तार र स्तरउन्नती गर्ने नीति लिइएको छ । खानेपानी समस्या समाधानको लागि एक घर एक धाराको निर्माण र व्यवस्थापन गर्ने तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले बताए ।
गाउँपालिकाले सिंचाई, कृषि तथा पशुपालन, कोरोना रोकथाम, स्वास्थ्य संस्थाको स्तराेन्नतीलाइ नीति तथा कार्यक्रमले जाेड दिएकाे छ । गाउँपालिकामा स्वास्थ्य इकाईहरुको संचालन, यस्तै शिक्षा तर्फ आधारभूत तहका विद्यालयहरुमा आउँदो शैक्षिक सत्र देखि अनिवार्य रुपमा १ देखि ३ सम्मको कक्षामा अंग्रेजी माध्यमबाट अध्यापन गराइने कार्यलाइ निरन्तरता दिइने छ । गाउँपालिका भित्रका माध्यमिक विद्यालयलाई आवासीय विद्यालयको रुपमा विकास गरिदै लगिने नीति लिएकाे छ । गाउँसभामा प्रवक्ता राजेश श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, वडाध्यक्षहरु, विषयगत समितिका सदस्यहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी लगायतको उपस्थिति थियो ।