पाल्पा । बगनासकाली गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ४६ करोड २६ लाख गाउँसभामा प्रस्तुत भएको छ । बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट सार्वजनकि गरेको हो ।
बगनासकालीको दशाैं गाउँसभामा उपाध्यक्ष सरस्वती चिदीले ४६ करोड २६ लाख ३२ हजार बरावरको बजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । उपाध्यक्ष चिदीले आगामी आर्थिक वर्षको लागि गाउँपालिकाले कोरोना महामारी नियन्त्रण तथा विपद व्यवस्थापनको लागि १ करोड विनियोजन प्रस्ताव गरिएको बताइन् । त्यसैगरी स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै स्वास्थ्य तर्फ ४० लाख, दिगो बालमैत्री निरन्तरताको लागि २५ लाख, कृषि तथा पशुसेवा तर्फ ४५ लाख, शैक्षिक गुणस्तर सुधारका लागि २० लाख विनियोजन प्रस्ताव गरिएको बताइन् ।
बगनासकाली गाउँपालिकाले आगामी आर्थिक वर्षमा लिफ्टिङ्ग खानेपानी महसुलमा ५० प्रतिशत उपभोक्ता समितिलाई सहुलियत प्रदान गर्ने भएको छ । लिफ्टिङ्ग खानेपानीको मोटर खरिदमा ६० प्रतिशत रकम गाउँपालिकाले बेहोर्ने प्रस्ताव गरेको छ । त्यसैगरी अभिभावकविहिन बालवालिकाहरुलाई मासिक १ हजार उपलब्ध गराउने प्रस्ताव गरेको छ ।
बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालका अनुसार आगामी आर्थिक वर्ष देखी दुध विक्री गर्ने किसानलाई ढुवानी अनुदान उपलब्ध गराइने, कृषि उपज संकलन र ढुवानीमा कृषकहरुलाई सहयोग, कृषि उपजको वजारीकरण सहयोग कार्यक्रम गरिने जानकारी दिए । त्यसैगरी बगनासकालीलाई मासु, दुध र तरकारीमा आत्मनिर्भर वर्षका रुपमा लैजाने, बाह्ै महिना सवारीचल्ने सडक निर्माण गरिने, गाउपालिकाको प्रशाशनिक भवन निर्माण, जन्मदेखी मृत्यु संस्कार सम्मका कार्यगर्न राम्दीघाट व्यवस्थापन, युवालक्षित कृषि कार्यक्रम, वाली विशेष पकेट कार्यक्रम संचालन गरिने प्रस्ताव गरिएको छ ।
गाउँसभामा मल, बीउँमा अनुदान, मागमा आधारित कार्यक्रमहरु संचालनको निरन्तरता दिइएको छ । नयाँ प्रविधिमा आधारित कृषिलाई बढाउदै लैजाने, १५ शैयाको अस्पताल निर्माण, दिर्घरोगीहरुलाई निशुल्क औषधी, स्वास्थ्यचौकीहरु पूर्वाधारयुक्त, गरिब घरपरिवार पहिचान कार्यक्रम, पर्यटन क्षेत्र प्रर्वद्धनको लागि १५ दिनको पारिश्रमिक वरावरको पर्यटन काज व्यवस्था गरेको छ । साथै निजामती र करार कर्मचारीहरुको मासिक २ हजार तलवबृद्धी, प्रारम्भिक वालविकास केन्द्रका शिक्षिका, सामुदायिक सिकाई केन्द्रका परिचारिकालाई र विद्यालय कर्मचारीलाई नेपाल सरकारले तोकेको १५ हजार न्यूनतम मासिक तलब उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत सुरेश घिमिरेले जानकारी दिए । यसैबीच, दशाैं गाउँसभाका अवसरमा तानसेनस्थित सन्चाे हेल्थ केयर प्रालिका संचालक तथा मेडिकल अधिकृत डा. झपेन्द्र ढकाल लगायतलाइ बगनासकाली गाउँपालिकाले सम्मान गरेकाे छ ।