रामपुरको नीति तथा कार्यक्रम पारित, ७४ कराेड ६४ लाख बजेट,  खोप खरिदका लागि २ करोड

पाल्पा । रामपुर नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट नगरसभामा पेश गरेको छ । रामपुर नगरप्रमुख रमण बहादुर थापाले नीति तथा कार्यक्रम र उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बजेट पेश गरेकी हुन् ।
रामपुरले आर्थिक वर्ष २०७८÷०७९ को लागि ७४ करोड ६४ लाख ६१ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । रामपुर नगरपालिकाका नगर प्रमुख थापाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको जानकारी गराए । नगरपालिकाले कोरोना विरुद्धको खोप खरिदको लागि रामपुर नगरले विनियोजन गर्यो २ करोड रुपैयाँ विनियोजन गरेको छ । खोप खरिद अनुमतिका लागि मुलुकमै पहिलो पटक स्वास्थ्य मन्त्रालय पुगेको रामपुर नगरपालिकाले नगरसभा मार्फत आगामी वर्ष खोप खरिदका लागि बजेट विनियोजन गरेका हो ।


संघीय सरकारले खोपको व्यवस्था गर्ने जनाए पनि नगरपालिकाले नगरबासीलाई सुरक्षित राख्न खोप खरिदको लागि बजेट छुट्याएको नगरप्रमुख थापाले बताए । नीति तथा कार्यक्रम र बजेटमा खोप खरिदको लागि पहल गरिने भएको छ । नगरपालिकाले प्रत्येक स्वास्थ्य संस्थामा कोरोना महामारीलाई ध्यानमा राख्दै अक्सिजन कन्सेन्ट्रेटर सहितको आईसोलेसन कक्ष सञ्चालन गर्ने जनाएको छ ।


कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर घर फर्किएका युवाहरुका लागी उत्पादनशिल कार्यमा लगाउन कृषि तथा उद्यम व्यवस्थापन गरि आयआर्जन तथा रोजगार प्रवद्र्धनका लागी आगामी नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ । नगरपालिकाले कोभिडको कारणबाट मृत्यु भएका परिवारको सदस्यलाई व्यवसायिक कृषि तथा पशुपन्छीपालनमा अनुदान उपलब्ध गराउने नीति लिएको नगर प्रमुख थापाले बताए ।
नगरपालिकाले पूर्वाधार विकास तर्फ प्रत्येक वडामा एक गौरवको योजना, अन्तरपालिका साझेदारी कार्यक्रमलाई निरन्तरता दिएको छ । वस्ती तथा टोलको पहिचान र वडा समितिको प्राथमिकतामा सिफारिस भएका योजनाहरु कार्यान्वयनका लागि बजेट उपलव्ध गराउने नीति अबलम्बन गरेको नगरप्रमुख थापाले बताए । नगरपालिकालाई उज्यालो बनाउन सडक बत्ती जडान गर्ने कार्यलाई निरन्तरता दिएको छ भने सोलार प्रणाली विस्तारका लागि बैकल्पिक ऊर्जा तथा सरोकारवाला निकायको सहकार्य गर्ने नगर उपप्रमुख घिमिरेले बताइन् ।


स्थानीय सडक, ग्रामीण सडक र कृषि सडकलाई स्तरोन्नती गरि कृषि उत्पादन वृद्धि र बजारीकरणमा सहजता बनाउन जोड दिएको छ भने एक वडा एक रंगरोगन प्रयोग गर्ने नीति अबलम्बन गर्ने, नगर भित्रका खोलानाला र कालीगण्डकीलाई प्रदुषणबाट जोगाउनका लागि ढल विनाको शहर अवधारणालाई निरन्तरता दिएको छ । नगरपालिकाले खरको छाना रहित बनाउन यसै आर्थिक वर्ष भित्र सबै खरको छाना भएका घरहरुलाई जस्तापातामा रुपान्तरण गर्ने भएको छ । जस्तापाता अनुदानको व्यवस्था मिलाई यसै वर्ष खरको छानो मुक्त बनाउने घोषणा गरेको छ । शहरी योजना तथा भवन निर्माण मापदण्ड, २०७२ को पूर्ण पालना गराई, २.२ आना भन्दा कम जग्गामा बनेका घर तथा जग्गामा दोव्बर दस्तुर लिई घर बनेको प्रमाणीत गर्नेछ ।


नगरपालिकाले शिक्षाको सुधारको लागि प्रत्यक्ष रुपमा सिकाइ नहुने अवस्थामा बैकल्पिक सिकाइ सहजिकरणलाई प्रभावकारी बनाई अध्ययन अध्यापनमा दुर शिक्षा र प्रविधिको प्रयोग समेत गर्ने नीति अवलम्बन गर्ने भएको छ । ‘एक वडा एक बालमैत्रि कक्षाकोठा’ भन्ने नाराका साथ प्राथमिक विद्यालयका सम्बन्धित शिक्षकहरुलाई बालमैत्रि शिक्षण तालिम दिइने भएको छ । मेयरसँग बालबालिका कार्यक्रम मार्फत एक विद्यार्थी १ गमला कार्यक्रम सञ्चालन गरिने भएको छ । ‘हाम्रा जनप्रतिनिधी, हाम्रा शिक्षक हाम्रा बाबुनानीको संरक्षक’ कार्यक्रम मार्फत छात्रवृत्ति वितरण, विद्यालयमा वडा अध्यक्ष अतिरिक्त क्रियाकलाप कार्यक्रम गरिने भएको छ । आगामी आर्थिक वर्ष देखि नै सामुदायिक बालविकासमा कार्यरत सहयोगी कार्यकर्ता न्यूनतम तलब १५ हजार प्रदान गरिने भएको छ ।

सबै प्रकारका धार्मिक संरचनाहरु मठमन्दिर, मस्जिद चर्चको संरक्षण तथा संबर्द्धनका लागि भौतिक अवस्था पहिचान गरि आवश्यकताको आधारमा भवन निर्माण÷मर्मत शिर्षकमा रकम विनियोजन गर्ने भएको छ । ‘एक वडा एक खेलकुद मैदान’ को अवधारणालाई अगाडी बढाइने भएको छ । वडा र नगरस्तरमा युवा समिति गठन गरी नमुना युवा संसद सञ्चालन गरिने छ । ‘उप–मेयरको कोसेली–सिपबाट हुनेछ दिगो आर्थिक आम्दानी’ भन्ने नारा अनुसार उप–मेयर कासेली कार्यक्रम शिर्षक अन्तरगत महिलाहरुका लागि न्यूनतम सशक्तिकरणका आयामहरु (लैगिंक समता, प्रजनन स्वास्थ्यता, जीवनोपयोगी शिक्षा, पुगीसरी सम्पन्नता र संस्थागत सहभागीता) लाई अबलम्बन गर्दै क्षमता विकास, सिप तथा व्यवसायीकता विकास तालिमहरु सँगै महिलामैत्री व्यवसायीक उपकरणहरु उपलब्ध गराईने नीति लिएको छ । नगर प्रमुख थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसहमतिले पारित गरेको छ ।
नगरको बजेट ७४ करोड
रामपुर नगरपालिकाको नवौं नगरसभामा उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले आगामी आर्थिक वर्षका लागि ७४ करोड ६४ लाख ६१ हजार बराबरको बजेट प्रस्तुत गरिन् । जसमा ६४ दशमलव ११ प्रतिशत चालु र ३५ दशमलव ८९ प्रतिशत पूँजीगत रहेको छ । पूर्वाधार विकास अन्तर्गत सडकतर्फ ४ करोड ९ लाख ५५ हजार, भवन तथा शहरी विकास तर्फ १ करोड ३३ लाख ५५ हजार रुपैयाँ, सिंचाई तर्फ ७३ लाख रुपैयाँ विनियोन गरेको छ ।
उर्जा तथा विद्युतिकरण तर्फ ४९ लाख ५० हजार रुपैयाँ, सामाजिक विकास अन्तर्गत शिक्षा तर्फ २५ करोड ४३ लाख ५० हजार रुपैयाँ, स्वास्थ्य तर्फ ५ करोड ७० लाख पाँच हजार रुपैयाँ, खानेपानी तथा सरसफाई तर्फ २ करोड ५ लाख ५७ हजार रुपैयाँ, संस्कृति प्रबद्र्धन तर्फ ६५ लाख ९० हजार रुपैयाँ , खेलकुद तथा मनोरन्जन तर्फ ४० लाख ६० हजार रुपैयाँ विनियोजन गरेकोछ ।
लैंगिक समानता तथा सामाजिक समावेशीकरण तर्फ ५७ लाख ७० हजार रुपैयाँ, अर्थिक विकास अन्तर्गत कृषि तथा पशु तर्फ १ करोड ९ लाख ७० हजार रुपैयाँ, उद्योग तथा बाणिज्य तर्फ ५६ लाख ६० हजार रुपैयाँ , पर्यटन क्षेत्र तर्फ ४८ लाख ८० हजार रुपैयाँ, प्रधानमन्त्रि रोजगार कार्यक्रम र युवा रोजगारी रुपान्तरण प्रयोजन तर्फ ८६ लाख रुपैयाँ र वातावरण तथा विपद् व्यवस्थापन तर्फ १ करोड रुपैयाँ गरी ७४ करोड ६४ लाख ६१ हजार रुपैयाँ विनियोजन गरेको छ ।
संघीय सरकार वित्तीय समानिकरण अनुदान १२ करोड ६० लाख, सशर्त अनुदान ३१ करोड २८ लाख, विषेश अनुदान १ करोड २५ लाख रहेको छ । यस्तै, प्रदेश सरकार बाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान ६० लाख १३ हजार, सशर्त अनुदान १ करोड १५ लाख ४४ हजार, समपुरक अनुदान २ करोड, विशेष अनुदान ७० लाख, राजश्व बाँडफाँड मुअकर ४ करोड ३९ लाख २ हजार, अन्तशुल्क ४ करोड ३९ लाख, आन्तरिक आय १५ करोड मार्फत गर्न लागेको छ ।
कार्यक्रममा राजश्व परामर्श समितिको वार्षिक प्रतिवेदन संयोजक विष्णुदेवी घिमिरे आचार्य, पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन संयोजक हिमाल मल्ल, आर्थिक विकास समितिको प्रतिवेदन संयोजक हुमनाथ न्यौपाने, सामाजिक विकास समितिको प्रतिवेदन समिति सदस्य मीन बहादुर सिंजाली, सार्वैजनिक सेवा तथा सुशासन विकास समितिको प्रतिवेदन संयोजक मित्रलाल कंडेल, न्यायिक समितिको प्रतिवेदन सदस्य विष्णु प्रसाद वस्याल र वन विद्येयक २०७८ विपद् व्यवस्थापन समिति संयोजक तारा बहादुर थापाले प्रस्तुत गरे ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले नगरको आवधिक योजना निर्माण संगै जनप्रतिनिधी र कर्मचारीहरुको लागि क्षमता विकासको कार्यक्रममा पनि ध्यान दिनु आवश्यक रहेको बताए । कार्यक्रम रामपुर नगरपालिकाका सूचना अधिकारी रामहरि पाण्डेको संचालनमा भएको हो । यसैबीच, कार्यक्रममा रामपुर नगरपालिकाले वडा नम्बर ७ का वडाध्यक्ष तीर्थ प्रसाद पंगेनी सहित १० जना व्यक्ति र तीन वटा व्यवसायीक फर्मलाई सम्मान गरेको छ । नगर सचेतक पंगेनीलाई ढाका टोपी र दोसला ओढाएर सम्मान गरेको हो ।

सभामा २०७७÷०७८ मा व्यवसाय कर तिर्ने मुक्तिनाथ विकास बैंक लिमिटेड, वल्र्ड लिङ्क कम्युनिकेशन प्रा.लि. र ढकाल विविध सप्लायर्स, सम्पति कर तिर्ने उत्कृष्ट करदाता रामपुर ५ का महेन्द्र श्रेष्ठ, कृष्ण प्रसाद ढकाल र गंगा ढकाललाई दोसला ढाका टोपी र सम्मान पत्रले सम्मान गरेको छ । रामपुर क्षेत्रका जुझारु क्रियाशील पत्रकार इमानसिं राना, गेझा स्वास्थ्य चौकी प्रमुख विक्रम भण्डारी, वडा नम्बर ५ का वडासचिव महेश भट्टराई, कम्प्युटर अपरेटर अमृत राना, सवारी चालक भेष बहादुर क्षेत्री र कार्यालय सहयोगी चोलाकान्त भट्टराईलाई नगदसहित दोसला र ढाका टोपी ओढाएर सम्मान गरिएको छ ।

सम्बन्धित खवर