पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम सोमबार नवौ गाउँसभामा पेश गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष चेतकुमारी थापाले रैनादेवी छहरा गाउँपालिकालाई ‘उज्यालो रैनादेवी, समृद्ध रैनादेवी, खेलकुद तथा धार्मिक पर्यटनको गन्तव्य रैनादेवी’ रुपान्तरण गर्ने कार्यक्रम अघि सारेर नीति तथा कार्यक्रमलाई जोड दिएकी छन् ।
सभामा गाउँपालिकाका अव्यवस्थित बस्ती, भूमिहिन तथा विस्थापित परिवारलाई व्यवस्थित गरिने योजना अघि सारेका छन् । रैनादेवी छहराले ‘विद्यमान समस्याको निकास, सुशासन सहितको विकास’ भन्ने नारालाई आत्मसात गरेर अघि बढ्ने जनाइएको छ । रैनादेवी छहराले ‘स्वस्थ्व जीवन, स्वच्छ खानेपानी’ नारा सार्थक तुल्याउन ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिएको छ । रैनादेवी छहराले ‘स्वास्थ्य उपचार सहायता कोष’ को स्थापना गरी आर्थिक विपन्न, अनाथ, अशक्त, अःसहाय व्यक्तिको मृगौला, मुटु, क्यान्सर, प्यारालाइसिस लगायतका जटिल रोगको स्वास्थ्य उपचारमा सहयोग गर्ने नीति लिएको छ ।
कोभिड १९ रोकथाम, उपचार तथा व्यवस्थापनका लागि महत्व दिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा कोभिड १९ र कृषिलाई प्राथमिकता दिएर बजेट ल्याएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । कोरोना भाइरसबाट प्रभावित गाउँपालिका बासिन्दालाई सहयोग हुने प्रकृतिका योजना र कृषि क्षेत्रको विकास, प्रोत्साहन र स्वरोजगारका कार्यक्रम ल्याइएको छ । कोभिड संक्रमणको नियन्त्रण गर्न प्रत्येक वडामा स्वयंसेवक परिचालन गर्ने र कोभिड अस्थायी अस्पतालको क्षमता विस्तार गर्ने उनले बताए । कोभिड १९ का संक्रमित बिरामीलाई लुम्बिनी प्रदेशभित्र उपचारका लागि लैजादा निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउनुका साथै कोभिड संक्रमित भई ज्यान गुमाउने परिवारको लागि राहतको व्यवस्था गर्ने अध्यक्ष कार्कीले बताए । कोभिड संक्रमित भई ज्यान गुमाएका शवलाई घाटसम्म लैजान निःशुल्क शव वाहन र आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्था मिलाइने उनले बताए ।
गाउँपालिकाले स्थानीय संचार माध्यमलाई नियमन, प्रवद्र्धन तथा संरक्षण गर्ने नीति अबलम्बन गर्दै निष्पक्ष र तथ्यपरक रुपमा सूचना पाउने नागरिकको अधिकरालाई सुनिश्चित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । वन, वातावरण, जलाधार, भुःसंरक्षण तथा जैविक विविधता अन्तर्गत ‘एक गाउ“, एक पोखरी’ कार्यक्रममार्फत् साविकका हरेक वडामा पोखरी निर्माण गर्ने नीति अघि सारेको छ ।
वडावाट प्राप्त योजनाका आधारमा ठोस योजना तथा कार्यक्रम तय भएको उनले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा संचालन भएका र पूरा नभइसकेका योजनाको निरन्तरता दिएको छ । नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार र सामाजिक विकासका क्षेत्रमा अघिल्ला वर्षकै प्रकृतिका योजना ल्याएको प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीले बताए ।
गाउँपालिकाले छहरा स्वास्थ्य चौकीमा जनशक्ति व्यवस्थापन गरी एक्सरे मेशिनका लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने भएको छ । आयुर्वेद नर्सरी स्थापना गर्न उत्प्रेरित गर्नुका साथै महिला स्वास्थ्य स्वयंसेविका निवृत्त हुँदा सम्मानका लागि निवृत्त कोषको स्थापना गरिने भएको छ ।
शिक्षा अन्तर्गत व्यवसायिक शिक्षालाई जोड दिँदै चालु आर्थिक वर्षदेखि सबै वडाबाट दुई÷दुई जनाका दरले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै शैक्षिक गुणस्तरलाई वृद्धि गर्न हरेक वर्ष उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्दै जाने नीतिलाई कायम नै राखेको छ । गाउँपालिकाले पर्यटन गुरुयोजना मार्फत् पर्यटकीय स्थलहरुकोपहिचान, प्रचारप्रसार सहज पहुँको लागि पूर्वँधार विकास गर्दै जाने नीति लिएको छ । गाउँपालिकाका विभिन्न स्थानमा पाइने लोपोन्मुख ११० सुनाखरीको संरक्षण गर्दै पर्यटकीय पदमार्गको पहिचान गर्ने र तिलकथान पार्क, कटौजेपानी रंगशाला निर्माण कार्यलाई निरन्तरता दिइने छ । उनका अनुसार नीति तथा कार्यक्रम पेश भएको र यही बिहिबार बजेट ल्याउने तयारी गरिएको छ ।
गाउँपालिकाको नवौ गाउँसभाले पाँच वटा कार्यविधिसमेत बनाएको छ । प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीका अनुसार राजश्व परामर्श कार्यविधि, बजेट तथा कार्यक्रम तर्जुमा कार्यविधि, अनुगमन तथा सुपरिवेक्षण कार्यविधि, नगर प्रहरी सन्चालन कार्यविधि, संस्था दर्ता सम्बन्धी कार्यविधि सभामा पेश गरेको हो । नवौ गाउँसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका सचेतक तुलाराम घर्ति बसन्तले स्थानीय सरकारले सबै नागरिक संगको सुझाव लिएर जनमुखी र सेवामुखी काम गर्नुपर्नेमा जोड दिए । उनले त्यसो भयो भने मात्र जनताले लोकतन्त्रको अनुभति गर्ने बताए ।
वितेका चार वर्ष जनताले जनप्रतिनिधिलाई गर्नै विश्वास जनप्रतिनिधिबाटै गुमाएको बताउँदै फोनसम्म नउठाउने जनप्रतिनिधि अब जनतामा माझ कसरी पुग्ने ? आफैले प्रश्न राख्नुपर्ने अवस्थ आएको उनले बताए । उनले स्थानीय जनप्रतिनिधिहरुले कुरा ठूला काम साना गरेकै कारण जनताले हेर्ने दृष्टिकोण गलत भएको समेत बताए । उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका नल बहादुर राना, नेकपा एमालेका प्रेम बहादुर थामी, राष्ट्रिय जनमोर्चाका विशाल दर्लामी, समाजसेवी देवी प्रसाद पौडेलले गाउँपालिकालाई आवश्यक सुझाव दिँदै जनमुखी बजेट आए मात्र जनताका समस्या हल गर्ने सहज हुने बताउँदै विदेशमा रहेका नागरिकको तथ्यांक राखेर गाउँमै स्वोरजगारको वातावरण मिलाउनसमेत आग्रह गरे । बजेटमा गाउँसभाका सदस्यहरु सुर्य कार्की, नारायण पोखरेल, यम बहादुर राउत र हुम बहादुर पौडेलले गाउँपालिकाले गरेको कतिपय निर्णय वडा तहसम्म नपुग्ने, खरिद प्रकृयालाई वडामै जिम्मा दिनु पर्ने खरिद प्रकृया ढिलाई हँुदा वडामा स्वास्थ्य सामग्री नपुग्नु जस्ता गुनासा राखेका थिय ।